काठमाडौं । केही दिनयता अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको ‘नो किंग्स’ आन्दोलनले तनाव सिर्जना गरेको छ । देशका हजारौं जनता ट्रम्पविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीले देशका सर्वोच्च नेतामाथि तानाशाहीको आरोप मात्रै लगाएका छैनन्, नाराबाजी र देशैभरी प्रदर्शनसमेत गरेका छन् । लामो समय पछि फेरि पनि लोकतन्त्र र नागरिक अधिकारको पक्षमा सडकमा अमेरिकनहरूको भीड जम्मा भएको छ । राष्ट्रपति ट्रम्पको आप्रवासीहरू माथिको ज्यादतीविरुद्धमा शनिबार र आइतवार देशभर व्यापक विरोध प्रदर्शन भएको छ ।
प्रदर्शनकारीहरूले ट्रम्पले अमेरिकालाई लोकतन्त्रबाट हटाएर एक व्यक्तिको शासन अर्थात् तानाशाहीतर्फ लैजाँदै गरेको गम्भीर आरोपसमेत लगाएका छन् । अमेरिकाको साना सहरदेखि ठूला सहरसम्म हजारौं मानिस सडक, पार्क र चोकमा उत्रिएर ट्रम्पको विरोध गर्दै आएका छन् ।
उनीहरुले हातमा ब्यानर बोकेर ‘तानाशाही चल्दैन, आप्रवासी अधिकार जिन्दाबाद’ जस्ता नारा लगाएका थिए ।स राष्ट्रव्यापी विरोधको प्रतिध्वनि एटलान्टा, फिलाडेल्फिया, शिकागो, अस्टिन, न्युयोर्क र लस एन्जलस जस्ता शहरहरूमा निरन्तर चलेको छ ।





