काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको १० महिनामा मोबाइल आयात घटेको छ । भन्सार विभागका अनुसार अघिल्लो आवको १० महिनामा २८ अर्ब ७६ करोड रुपैयाँको १७ लाख ८५ हजार थान मोबाइल आयात भएको थियो । यो अवधिमा मोबाइल आयातमा सरकारले पाँच अर्ब ३६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो ।

तर चालू आर्थिक वर्षको पहिलो १० महिना २४ अर्ब रुपैयाँ भन्सार मूल्यका मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार वैशाखसम्ममा १५ लाख २८ हजार वटा मोबाइल आयात भएको छ । यो वर्ष सरकारले चार अर्ब ४७ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

ADVERTISEMENT

विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्षको १० महिनामा मोबाइल आयात चार अर्ब ७५ करोड रुपैयाँले घटेको छ ।
भन्सार विभागको पछिल्ल्लो १० वर्षको तथ्यांक अनुसार वैशाखसम्ममा हालसम्ममा सबैभन्दा धेरै गत आव २०८०–८१ मा आयात भएको थियो । पछिल्लो १० वर्षमा सबैभन्दा कम मोवाइल आयात कोरोना काल २०७८–७९ मा २० करोड रुपैयाँको थियो ।

ADVERTISEMENT

पछिल्लो १० वर्षमा नेपालमा दुई करोड ७४ लाख थान मोबाइल नेपाल भित्रिएको छ । यस्तो मोबाइल आयात १० वर्षमा ८१ अर्ब १८ करोड रुपैयाँ भन्सार मूल्यको आउँदा राज्यले पाएको कर भने १५ अर्ब १५ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । पछिल्लो समय नेपालमा महंगा मोबाइल आयात बढेकोले पनि संख्यामा कम देखिएपनि बर्षेनी यसमा हुने खर्च भने बढ्दै गएको छ ।