काठमाडाैं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नियुक्त भएका छन्। यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा थिए।
एक औपचारिक कार्यक्रमबिच उप्रेतीले डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उप्रेतीसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढि काम गरेको अनुभव छ। उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री होल्डर हुन्। हाल उनी राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आबद्ध छन्।
नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्। एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो।






