काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन् । पौडेलले पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छलफल गरेका हुन् ।
जेनजी आन्दोलनपछि के कति क्षति भयो र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर पौडेलले बैंकर र उद्योगी व्यवसायीहरूसँग छलफल गरेका हुन् ।
गभर्नर पौडेलको निजी सचिवालयका अनुसार शुक्रबार नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका प्रतिनिधि छलफलमा सहभागी थिए ।
‘वर्तमान परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको हो । साथै भेटमा के कस्तो समस्या भयो र कति क्षति भएको छ भन्ने विषयमा गभर्नरले जानकारी लिनुभयो,’ भेटमा सहभागी एक उद्योगीले भने ।
गभर्नर पौडेलले के कति क्षति भयो, अब कसरी अगाडि बढ्ने भन्ने विषयमा जानकारी माग गरेका थिए । पौडेलको ललितपुरको भैंसेपाटी र भरतपुरमा रहेको निजी घरसमेत जेनजीको नाममा घुसपैठियाहरूले जलाइदिएका छन् ।
आन्दोलनका क्रममा होटेल हिल्टन, चन्द्रागिरी हिल्सको केबलकार, सिज्री इलेक्ट्रोनिक्स, भाटभटेनीका २१ आउटलेट खरानी बनाइएको छ ।










