काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१/८२ को वार्षिक आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले प्रदेशगत उपभोक्ता मूल्य मुद्रास्फीति (CPI) मा उल्लेखनीय भिन्नता देखाएको छ। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा उच्च वार्षिक औसत मुद्रास्फीति कोशी प्रदेशमा ५.४६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५.०२ प्रतिशत पुगेको छ। त्यसपछि मधेश प्रदेशमा ४.१४ प्रतिशत, लुम्बिनीमा ३.७० प्रतिशत, बागमतीमा ३.५७ प्रतिशत, गण्डकीमा ३.३२ प्रतिशत र कर्णालीमा ३.३१ प्रतिशत देखिएको छ।

यस्तै, २०८२ असार महिनासम्मको विन्दुगत मुद्रास्फीति हेर्दा कोशी प्रदेश पुनः अग्रपंक्तिमा देखिएको छ। उक्त अवधिमा कोशीमा ३.६७ प्रतिशत, सुदूरपश्चिममा २.७४ प्रतिशत मुद्रास्फीति दर कायम भएको छ भने अन्य प्रदेशमा भने दर दुई प्रतिशत वरिपरि मात्र सीमित छ। मधेशमा १.९९ प्रतिशत, बागमतीमा १.८१ प्रतिशत, गण्डकीमा १.७१ प्रतिशत, लुम्बिनीमा १.७८ प्रतिशत र कर्णालीमा १.८६ प्रतिशत मुद्रास्फीति देखिएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

यस तथ्यांकले नेपालको आन्तरिक बजारमा मूल्यवृद्धि क्षेत्रगत असमानतासहित अघि बढिरहेको देखाउँछ। सीमावर्ती र भौगोलिक कठिनाइ भएको प्रदेशमा उपभोक्ताले बढी मूल्य चाप खेपिरहेका छन् भने राजधानी र पर्यटकीय क्षेत्रमा मूल्य वृद्धि तुलनात्मक रूपमा नियन्त्रणमा रहेको संकेत मिलेको छ।