काठमाडौं । विश्वव्यापी निर्माण उपकरण निर्माता कम्पनी लिउगङ (LiuGong) ले नेपालका लागि ओम्नी मुभर्स प्रालिलाई आफ्नो आधिकारिक वितरक नियुक्त गरेको छ ।
यससँगै लिउगङ ब्रान्डका निर्माण तथा भारी उपकरण नेपाली बजारमा ओम्नी मुभर्समार्फत उपलब्ध हुने भएका छन् ।चीनको ग्वाङ्सी लिउगङ मेसिनरी कम्पनी लिमिटेडले सन् १९५८ मा स्थापना भएदेखि निर्माण उपकरण उत्पादन गर्दै आएको छ ।
कम्पनीले एक्स्काभेटर, ह्विल लोडर, सडक निर्माणमा प्रयोग हुने उपकरण, खानी तथा उत्खननका मेसिन, कृषि उपकरण, लिफ्टिङ उपकरण र औद्योगिक सवारीसाधनलगायत विभिन्न प्रकारका उपकरण उत्पादन गर्दै आएको छ ।
लिउगङका अनुसार कम्पनीसँग ३० भन्दा बढी उत्पादन शृङ्खला छन् । उसका उत्पादन तथा सेवाहरू विश्वका १८० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन् ।
कम्पनीले विश्वभर ५०० भन्दा बढी आधिकारिक डिलरमार्फत आफ्ना उत्पादन तथा सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, २० भन्दा बढी उत्पादन केन्द्र, १७ वटा अनुसन्धान तथा विकास केन्द्र र ३० भन्दा बढी पार्टपुर्जा केन्द्र रहेको कम्पनीले जनाएको छ । कम्पनीमा १५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
नेपालमा लिउगङका उपकरणको बिक्री, बिक्रीपछिको सेवा तथा आवश्यक पार्टपुर्जाको उपलब्धता सुनिश्चित गर्ने जिम्मेवारी ओम्नी मुभर्सले लिनेछ । कम्पनीले ग्राहकलाई बिक्री, मर्मतसम्भार तथा पार्टपुर्जा उपलब्ध गराउने गरी तीनवटै पक्ष समेटिएको सेवा सञ्जाल विकास गर्ने जनाएको छ ।
ओम्नी मुभर्स ओम्नी (काबरा) ग्रुपअन्तर्गतको कम्पनी हो । उक्त समूहले नेपालमा तीन दशकभन्दा बढी समयदेखि अटोमोबाइल क्षेत्रमा काम गर्दै आएको छ । समूहले यसअघि भारतबेन्ज, चेरी वान्डा, अपोलो टायर्स र भ्याल्भोलिनजस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्दै आएको छ ।
ओम्नी ग्रुपका प्रतिनिधि उदय काब्राले लिउगङसँगको साझेदारीलाई समूहको नयाँ व्यावसायिक अध्यायका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रमा सम्भावना रहेकाले अन्तर्राष्ट्रिय बजारमा स्थापित निर्माण उपकरण नेपाली ग्राहकसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
उनले उपकरण बिक्रीमा मात्र सीमित नभई ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्न भरपर्दो बिक्रीपछिको सेवा र पार्टपुर्जाको उपलब्धतामा पनि ध्यान दिइने बताएका छन् ।
नेपालमा सडक, जलविद्युत्, भवन, खानी तथा अन्य पूर्वाधार निर्माणका गतिविधि बढ्दै जाँदा निर्माण उपकरणको माग पनि विस्तार हुँदै गएको छ । यस्तो अवस्थामा लिउगङको प्रवेशले नेपाली बजारमा निर्माण उपकरणका थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।












