काठमाडौं । मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी घट्दै गएको छ ।
कृषि उत्पादन बढाउने, आत्मनिर्भर बन्ने र किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारी नीतिका बाबजुद बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रमा प्रवाहित कर्जा एक वर्षमै ६ अर्ब ८० करोड रुपैयाँले घटेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सातै प्रदेशका ७७ वटै जिल्लाको एकीकृत वार्षिक प्रतिवेदन २०८२/८३ ले कृषि क्षेत्रमा बैंकिङ लगानी खुम्चिँदै गएको देखाएको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३ खर्ब २९ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २.०२ प्रतिशतले कम हो । अघिल्लो वर्ष कृषि क्षेत्रमा ३ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
कृषि क्षेत्रमा प्रवाहित कुल कर्जाको वितरण हेर्दा बैंक तथा वित्तीय संस्थाको लगानीमा असमानता देखिएको छ । सबैभन्दा बढी ७८ अर्ब ७९ करोड रुपैयाँ अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा कर्जा प्रवाह भएको छ । सबैभन्दा कम भने सुर्ती खेतीमा ३० करोड ४७ लाख रुपैयाँ मात्रै कर्जा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशगत रूपमा कृषि कर्जाको वितरण झनै असन्तुलित देखिएको छ । कुल कृषि कर्जामध्ये बागमती प्रदेशमा मात्रै ३६.५७ प्रतिशत लगानी केन्द्रित छ । मधेश प्रदेशमा १८.१५ प्रतिशत, कोशीमा १६.८८ प्रतिशत, लुम्बिनीमा १५.२२ प्रतिशत, गण्डकीमा ६.९७ प्रतिशत र सुदूरपश्चिममा ४.७४ प्रतिशत कर्जा प्रवाह भएको छ ।
कर्णाली प्रदेश कृषि कर्जाको पहुँचमा सबैभन्दा पछाडि देखिएको छ । कुल कृषि कर्जामध्ये कर्णालीले जम्मा १.४९ प्रतिशत मात्रै हिस्सा पाएको छ ।
कृषि उत्पादन र सम्भावनाका दृष्टिले महत्वपूर्ण मानिने कर्णालीमा बैंकिङ कर्जाको पहुँच न्यून हुनुले वित्तीय पहुँचको असमानता र क्षेत्रीय विकासको अन्तरलाई उजागर गरेको छ ।
बागमतीमा मात्रै कुल कृषि कर्जाको एकतिहाइभन्दा बढी हिस्सा केन्द्रित हुँदा कर्णाली, सुदूरपश्चिम र गण्डकीजस्ता प्रदेशमा लगानीको हिस्सा निकै कम देखिएको छ । यसले कृषि क्षेत्रमा लगानीको आवश्यकता, भौगोलिक सम्भावना र वित्तीय स्रोतको वितरणबीच तालमेल हुन नसकेको प्रतिवेदनले औँल्याएको छ ।












