सप्तरी । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार गएराति करिब १ बजे श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो ।
बस्तीमा हात्ती आएको थाहा पाएपछि श्रेष्ठ घरनजिकै आगो बालेर बसिरहेका थिए । सोही क्रममा आएको हात्तीले उनलाई आक्रमण गरेको थियो । उनका छोरा अर्जुनले भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।
एक सातादेखि सप्तरीमा हात्तीको ठूलो बथान प्रवेश गरेपछि रुपनी क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।
यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो ।












