ताप्लेजुङ । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर पटक–पटक भूकम्प जान थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । मंगलबार बिहान पनि ५.६ म्याग्निच्युडको भूकम्प गएपछि जिल्लाका विभिन्न क्षेत्रमा धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पले ओलाङचुङगोला क्षेत्रमा घरहरू निकै हल्लाएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताए । उनका अनुसार भूकम्पको धक्का शक्तिशाली भए पनि हालसम्म स्थानीय क्षेत्रमा कुनै क्षतिको विवरण प्राप्त भएको छैन । जिल्लाको उच्च स्थानमा रहेको याङमा गाउँमा समेत क्षति नभएको उनले जानकारी दिए ।
भूकम्पको धक्काले स्थानीय बासिन्दा भने त्रसित बनेका छन् । बिहान दैनिक काममा व्यस्त रहेका बेला जमिन र घर हल्लिन थालेपछि आफूहरू आत्तिएको स्थानीयले बताएका छन् ।
फक्ताङलुङ गाउँपालिका–६ लेलेपकी मनमाया लिम्बू भूकम्प जाँदा घरनजिकैको बाख्राखोरमा बाख्रालाई दानापानी दिँदै थिइन् । अचानक जमिन र घर हल्लिन थालेपछि २०७२ सालको विनाशकारी भूकम्पको सम्झना आएको उनले बताइन् । त्यतिबेला क्षति पुगेको घर फेरि हल्लिन थालेपछि आफू आत्तिएर चिच्याएको उनको भनाइ छ ।
त्यस्तै, मैवाखोला गाउँपालिका–३ साँघुकी निर्मला लिम्बूले पनि भूकम्पको धक्काले आफूहरू त्रसित भएको बताइन् । कम्पन रोकिएपछि आफन्तलाई फोन गरेर अवस्था बुझ्दा मात्रै मन शान्त भएको उनले सुनाइन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ । प्रशासनले स्थानीय संयन्त्र र प्रहरीमार्फत विवरण माग गरे पनि अहिलेसम्म क्षतिको जानकारी प्राप्त नभएको उनले बताए ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांकअनुसार ओलाङचुङगोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर यसअघि पनि पटक–पटक भूकम्प गइसकेको छ । २०७७ माघ २७ गते ५.४, २०७९ वैशाख १२ गते ३.५ र सोही वर्ष माघ ३० गते ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
मंगलबारको भूकम्पसँगै २०७७ सालयता यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार पटक भूकम्प गएको छ ।












