काठमाडौँ । कर्णाली प्रदेशमा आजदेखि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि प्रतिस्पर्धात्मक खेल भने आजैदेखि सञ्चालन हुन लागेका हुन् ।
दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार आजदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल सञ्चालन हुनेछन् ।
प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुनेछन् । एथलेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, टेबलटेनिस, उसु, तेक्वान्दो, बक्सिङ, ह्यान्डबल, बास्केटबल, भारोत्तोलनलगायत खेल सुर्खेतमा हुनेछन् ।
अन्य खेलमध्ये टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालीकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा आयोजना हुने तय भएको छ ।
प्रतियोगिताका लागि वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । विभिन्न प्रदेशका खेलाडीहरू पनि वीरेन्द्रनगर पुगिसकेका छन् । वीरेन्द्रनगरस्थित रंगशाला सोमबार हस्तान्तरणसँगै उद्घाटन गरिएको थियो ।
प्रतियोगिताको प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्यालीसमेत निकालिएको थियो । र्यालीमा मुख्यमन्त्री मङ्गलबहादुर शाही, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलाडी तथा स्थानीयको सहभागिता रहेको थियो ।
लामो प्रतीक्षापछि कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना हुन लागेको हो । प्रतियोगिताको उद्घाटन र समापन दुवै सुर्खेत रंगशालामा हुनेछ । मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ ।












