सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा कर्णाली प्रदेशले खेलाडी छनोट र बन्द प्रशिक्षणको तयारी तीव्र पारेको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ।

ADVERTISEMENT

परिषद्का सदस्यसचिव रवीन्द्र चन्दका अनुसार बाँकी खेलका प्रदेशस्तरीय छनोट प्रतियोगिता कात्तिक २७ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछन्। यसअघि सम्बन्धित खेल संघ तथा महासंघबाट खेलाडी छनोट भइसकेका खेलको बन्द प्रशिक्षण पनि सुरु गरिने उनले जानकारी दिए।

ADVERTISEMENT

सार्वजनिक तालिकाअनुसार बास्केटबल (महिला तथा पुरुष), शारीरिक सुगठन र पौडीको छनोट कात्तिक २७ गते हुनेछ। जुडोको कात्तिक २८ गते तथा सेपाकताक्रो र सुटिङको कात्तिक २९ गते छनोट प्रतियोगिता सञ्चालन हुनेछ।

त्यस्तै, जिम्न्यास्टिक र ई-स्पोर्ट्सको छनोट कात्तिक ३० गते तथा साइक्लिङको मंसिर १ गते हुनेछ। स्क्वास, आर्चरी, भारोत्तोलन र कुस्तीको छनोट भने मंसिर ४ गतेका लागि तय गरिएको छ।

छनोट प्रतियोगिता सुर्खेतका विभिन्न खेलस्थलमा सञ्चालन गरिनेछ। मुख्य रंगशाला, स्क्वास हल, राजदल सैनिक खेलमैदान, काँक्रेविहार, होटल सिद्धार्थ र नगरपालिकाको खुला मैदान छनोटका लागि तोकिएका छन्। सुटिङको छनोट भने नेपालगन्जमा हुनेछ।

सदस्यसचिव चन्दले प्रतियोगिताको तयारी व्यवस्थित बनाउन सम्बन्धित खेल संघ तथा महासंघलाई निर्धारित समयमै छनोट प्रक्रिया पूरा गर्न निर्देशन दिइएको बताए।

३१ खेलका खेलाडी बन्द प्रशिक्षणमा

परिषद्ले सार्वजनिक गरेको बन्द प्रशिक्षण तालिकामा ३१ खेल समेटिएका छन्। एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल र स्क्वासका खेलाडी बन्द प्रशिक्षणमा रहनेछन्।

त्यस्तै, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई-स्पोर्ट्स, सेपाकताक्रो, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, सुटिङ, कुस्ती, खोखो र आईटीएफ तेक्वान्दोका खेलाडीलाई पनि बन्द प्रशिक्षणमा राखिनेछ।

बन्द प्रशिक्षणका लागि मुख्य रंगशाला, चिसापानी खेलमैदान, सुर्खेतका क्रिकेट मैदान, जिल्ला खेलकुद विकास समितिका खेलमैदान, रंगशालास्थित कभर्डहल, ब्याडमिन्टन कभर्डहल र मिनी कभर्डहल तोकिएका छन्।

यसका अतिरिक्त रग्बी मैदान, काँक्रेविहार, होटल सिद्धार्थ, रंगशाला परिसर, पौडी पोखरी, नेपालगन्ज, सल्यानको श्रीनगरस्थित कभर्डहल र दैलेखमा समेत खेलाडीलाई प्रशिक्षण दिइने परिषद्को तालिकामा उल्लेख छ।

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगिताको सहआयोजकसमेत रहेको कर्णालीले खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मका गतिविधिलाई तीव्रता दिएको छ।