रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार गरेका छन्। गोली लागेर गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।

स्थानीयका अनुसार मंगलबार राति करिब ९ः१५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक यादवमाथि एक्कासि गोली प्रहार गरिएको थियो। पाँच राउन्ड गोली चलेपछि घटनास्थल आसपास त्रास फैलिएको थियो। घाइते यादवलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

ADVERTISEMENT

घाइतेको सिटी स्क्यान गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको चिकित्सकबाट जानकारी प्राप्त भएको डीएसपी गौतमले बताए। उनको हात, पाखुरा र पिठ्युँलगायतका भागमा गोलीका घाउ देखिएका छन्।

घाइतेको अवस्था गम्भीर रहे पनि उनी चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। युवकमाथि कसले र किन गोली प्रहार गर्‍यो भन्ने विषयमा भने अहिलेसम्म खुलेको छैन।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै सम्भावित आक्रमणकारीको खोजी सुरु गरेको डीएसपी गौतमले जानकारी दिए।

सदरमुकाम गौरकै बस्तीमा रातिको समयमा भएको गोलीकाण्डले स्थानीय बासिन्दामा सुरक्षा चिन्ता बढाएको छ। पाँच राउन्ड गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान र घटनाको कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ।