काठमाडौं । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरमा रहेको विद्यालय तथा मानवीय सहायता वितरण केन्द्रमा हवाई आक्रमण गर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
आक्रमणमा परी ५० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उक्त घटनालाई रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा घातकमध्ये एक आक्रमण बताएका छन्। उनका अनुसार उद्धारकार्य दोस्रो दिन पनि जारी छ र भग्नावशेषमा अझै मानिसहरू पुरिएको आशंका छ।
स्थानीय प्रशासनका अनुसार आक्रमण भएको विद्यालय भवनमा सर्वसाधारणले आश्रय लिइरहेका थिए। युद्धका कारण विद्यालय सञ्चालन हुन नसकेपछि भवनलाई स्थानीय प्रशासनिक कार्यालय तथा मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो। आक्रमणका बेला स्थानीय बासिन्दा राहत सामग्री लिन त्यहाँ भेला भएका थिए।
जापोरिजिया क्षेत्रका गभर्नर मिखाइलो सेमिकिनका अनुसार रुसी सेनाले उक्त क्षेत्रमा दुई चरणमा गरी कम्तीमा नौवटा हवाई बम प्रहार गरेको थियो। भवनको भूमिगत भागमा युरोपेली संघको आर्थिक सहयोगमा निर्माण गरिएको सुरक्षित आश्रयस्थलसमेत रहेको थियो। शक्तिशाली बमको प्रहारबाट कङ्क्रिट संरचना भत्किएपछि आगलागी भएको थियो।
आक्रमणपछि उद्धारका लागि घटनास्थल पुगेका दुई उद्धारकर्मी र चार प्रहरी अधिकारीसमेत मारिएका छन्। पहिलो आक्रमणपछि उद्धारकार्य जारी रहेकै बेला पुनः आक्रमण हुँदा उद्धारमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणसमेत प्रभावित भएका थिए।
युक्रेनस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। मिसन प्रमुख ड्यानियल बेलले मानवीय सहायता वितरणको समय र स्थानबारे सार्वजनिक रूपमा जानकारी गराइएको अवस्थामा आक्रमण हुनु गम्भीर विषय भएको बताएकी छन्।
उनका अनुसार रुसी सेनालाई त्यहाँ मानवीय सहायता वितरण भइरहेको जानकारी थियो वा आक्रमणअघि आवश्यक सावधानी अपनाउन असफल भएको हुन सक्छ। घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त उल्लङ्घन गरेको देखिने उनको भनाइ छ।
यसैबीच, विद्यालयमा आक्रमण भएको केही समयपछि रुसले युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गरी ठूलो स्तरमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार रुसले २८९ ड्रोन, १७ ब्यालिस्टिक क्षेप्यास्त्र र ५९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो।
आक्रमणबाट विभिन्न ऊर्जा केन्द्र तथा विद्युत् सबस्टेसनमा क्षति पुगेको छ। तीनवटा तापविद्युत् केन्द्रसमेत बन्द भएका छन्।
युक्रेनका ऊर्जा अधिकारीहरूले खमेल्नित्स्की आणविक विद्युत् केन्द्रका लागि महत्त्वपूर्ण सबस्टेसन नजिक ड्रोन आक्रमण भएको भन्दै आणविक सुरक्षामा जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्। यसबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई जानकारी गराइएको छ।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षा प्रणाली थप बलियो बनाउन अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिकासँग सहयोग मागेका छन्।










