काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री आज (बुधबार) नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा विदेश सचिव मिस्री र परराष्ट्र सचिव राईबीच द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गरिने कार्यक्रम छ।
दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भ्रमण हुन लागेको मन्त्रालयले जनाएको छ।
नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन्।
दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी मिस्री कात्तिक १९ गते काठमाडौं हुँदै नयाँदिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।










