काठमाडौं । सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रक्रिया अघि बढाएको छ। कम्पनीले बर्दियाको राजापुर शाखालाई धान खरिदको अख्तियारी पठाएको छ भने कञ्चनपुरको महेन्द्रनगर शाखाले खरिद तालिका सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्को जेठ ११ गतेको निर्णयअनुसार चालु आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६०६ रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ तोकिएको छ।
सोही मूल्यका आधारमा कम्पनीको प्रधान कार्यालयले कात्तिक १२ गते राजापुर शाखालाई पहिलो चरणमा ३० हजार क्विन्टल धान खरिद गर्न अख्तियारी दिएको हो। यसमध्ये २५ हजार क्विन्टल मोटा र ५ हजार क्विन्टल मध्यम धान खरिद गरिनेछ।
समर्थन मूल्यको लाभ वास्तविक किसानले मात्रै पाऊन् भन्ने उद्देश्यले कम्पनीले एकैपटक अस्वाभाविक रूपमा ठूलो परिमाणमा धान बिक्री गर्न आउने व्यक्तिलाई पहिचान गरी निरुत्साहित गर्न निर्देशन दिएको छ।
यसैगरी, महेन्द्रनगर शाखाले कात्तिक १६ गतेको प्राथमिक खरिद समिति निर्णयअनुसार धान खरिदको कार्यतालिका सार्वजनिक गरेको छ। त्यहाँ धान बिक्री गर्न चाहने किसानले अनिवार्य रूपमा पहिले कुपन लिनुपर्नेछ।
शाखा कार्यालय परिसरबाट कात्तिक १९ र २० गते कुपन वितरण गरिनेछ। कुपन प्राप्त गरेका किसानको धान कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा कार्यालयको गोदाममा जोखिनेछ।
कम्पनीले बिचौलिया रोक्न एक किसानबाट अधिकतम ३० क्विन्टलसम्म मात्रै धान खरिद गर्ने व्यवस्था गरेको छ। किसानले बिक्रीका लागि ल्याउने धानमा पराल, भुस, पोकटा, माटो र ढुङ्गा मिसिएको हुनुहुँदैन। धानको गुणस्तर जाँच गरेपछि मात्रै तौल गरिने कम्पनीले जनाएको छ।
किसानले कुपनमा उल्लेख भएको मितिमै धान ल्याउनुपर्नेछ। तोकिएको मितिभन्दा अन्य दिन धान ल्याएमा कम्पनी खरिद गर्न बाध्य नहुने जनाएको छ।
धान खरिद प्रक्रियालाई पारदर्शी बनाउन आवश्यक कागजातसमेत अनिवार्य गरिएको छ। कुपन लिन जाँदा किसानले जग्गाधनी प्रमाणपुर्जा र नागरिकताको प्रतिलिपि बुझाउनुपर्नेछ।
जग्गा भाडामा लिएर खेती गरेका किसानले भने ठेक्का सम्झौतापत्र वा जग्गा ठेक्कामा लिएको खुल्ने गरी वडा कार्यालयले दिएको सिफारिसको सक्कल प्रति पेस गर्नुपर्नेछ। धान बिक्री गर्ने समयमा किसानको पहिचान खुल्ने गरी वडा कार्यालयबाट जारी गरिएको सिफारिसपत्रको सक्कल प्रतिसमेत बुझाउनुपर्ने व्यवस्था छ।
किसानले धान बिक्री गरेबापत पाउने रकम नगदमा नभई सम्बन्धित किसानकै बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ। कम्पनीले तोकिएको मिति र मापदण्डअनुसार मात्रै धान बिक्री गर्न किसानलाई आग्रह गरेको छ।









