काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। उनी पदभार ग्रहणका लागि मंगलबार काठमाडौं आइपुगेका हुन्।
भारत सरकारले गत असोज ३० गते दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो। उनी नेपालका लागि भारतका २७औँ राजदूत हुन्। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरी भारत फर्किएपछि दलेलालाई नयाँ जिम्मेवारी दिइएको हो।
श्रीवास्तव सन् २०२२ जुनमा नेपालका लागि भारतका २६औँ राजदूत नियुक्त भएका थिए। उनले सन् २०२६ अक्टोबर १ मा आफ्नो कार्यकाल पूरा गरेका थिए।
भारतीय विदेश सेवाका वरिष्ठ कूटनीतिज्ञ दलेलाले सन् १९९३ मा सेवामा प्रवेश गरेका थिए। उनले आफ्नो कूटनीतिक करिअर इजरायलको तेलअभिभबाट सुरु गरेका थिए। त्यसपछि ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।
दलेलाले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। त्यसअघि सन् २००९ देखि २०११ सम्म नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री कार्यालयमा निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
नेपाल र भुटान मामिलामा पनि उनको लामो अनुभव छ। सन् २००६ मा भारतीय विदेश मन्त्रालयको उत्तर विभागमा निर्देशक र सन् २०१६ देखि २०१९ सम्म सोही विभागको सहसचिवका रूपमा काम गरेका थिए। उक्त विभागले नेपाल र भुटानसँग भारतको सम्बन्ध हेर्छ।
व्यापार तथा आर्थिक नीतिमा समेत दलेलाको अनुभव छ। उनले भारतीय वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका थिए। विश्व व्यापार संगठन (डब्लूटीओ) मा रहेको भारतको स्थायी नियोगमा दुईपटक जिम्मेवारी सम्हालेका उनले सन् २०१४ देखि २०१६ सम्म भारतका उपस्थायी प्रतिनिधिका रूपमा काम गरेका थिए।
त्यस्तै, उनी सन् २०२० देखि २०२२ सम्म वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा डेपुटी चिफ अफ मिसन थिए। सन् २०२५ सेप्टेम्बर १ देखि भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हालिरहेका दलेला राजदूत नियुक्त हुनुअघि भारतको आर्थिक कूटनीतिसम्बन्धी विषयमा सक्रिय थिए।
उक्त जिम्मेवारीमा रहँदा उनले ग्लोबल साउथका देशसँग विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका थिए।
दलेला ब्रिक्स, आईबीएसए तथा भारत–इजरायल–यूएई–अमेरिका (आईटूयूटू) लगायतका बहुपक्षीय तथा रणनीतिक समूहमा भारतका प्रतिनिधिसमेत हुन्। परराष्ट्र सेवामा प्रवेश गर्नुअघि उनले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका थिए।









