कास्की। पोखराको एक औषधि पसलबाट ७ हजारभन्दा बढी लागूऔषधका चक्की बरामद भएपछि पसल सञ्चालिका पक्राउ परेकी छन्।

पोखरा महानगरपालिका–२६ कालीकाचोकस्थित जलधारे फार्मेसीमा प्रहरीले छापा मार्दा ७ हजार १६० वटा चक्की बरामद गरेको हो। लागूऔषधको अवैध कारोबार भइरहेको सूचनाका आधारमा गरिएको कारबाहीमा २९ वर्षीया सञ्चालिका अमिसा ढुंगाना पक्राउ परेकी हुन्।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार फार्मेसीबाट कोडेप–पी नामक कोडिनयुक्त औषधिका ६ हजार ४००, प्रेगाबालिनका ४५०, लोराजेपामका १५० र क्लोर्डियाजेपोक्साइडका १६० चक्की बरामद भएका छन्।

ADVERTISEMENT

पक्राउ परेकी सञ्चालिकामाथि औषधिसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। औषधि पसलबाटै लागूऔषधको अवैध कारोबार हुने घटना दोहोरिन थालेपछि यस्ता गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र कडा निगरानी आवश्यक देखिएको छ।