धादिङ । काम गरेको ज्याला नपाउँदा धादिङबेसीमा पुल निर्माणमा खटिएका १२ जना मजदुरको बिचल्ली भएको छ। ठेकेदारले काम गरेबापत पाउनुपर्ने रकम भुक्तानी नगरेपछि उनीहरू दसैँ मनाउन घर जानबाट वञ्चित भएका छन्। घरसम्म पुग्ने बाटो खर्चसमेत नहुँदा उनीहरू स्थानीयवासीले दिएको खाद्यान्नको भरमा दिन काट्न बाध्य भएका हुन्।

धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपलखोलामाथि निर्माणाधीन पक्की पुलमा मजदुरी गर्दै आएका उनीहरू ज्याला नपाएपछि समस्यामा परेका हुन्। चाडपर्वमा परिवारसँग बसेर मिठोमसिनो खाने, छोराछोरीलाई नयाँ लुगा किनिदिने र दसैँको खुसी साटासाट गर्ने सपना बोकेर काम गरेका मजदुर अहिले आफ्नै घर पुग्न नसक्ने अवस्थामा छन्।

ADVERTISEMENT

पुल निर्माणमा संलग्न कुल ३६ जना मजदुरमध्ये २४ जना सरसापट गरेर तथा घरबाटै पैसा मगाएर घर फर्किएका छन्। बाँकी १२ जना भने बाटो खर्च जुटाउन नसकेपछि धादिङबेसीमै रोकिएका छन्। उनीहरूमध्ये अधिकांशको घर पुग्न तीन दिनसम्म लाग्ने भएकाले सामान्य यात्राखर्च जुटाउन नसक्दा दसैँमा परिवारसँग भेट्ने आशासमेत कमजोर बनेको छ।

ADVERTISEMENT

सल्यानका मजदुर अम्मर कार्कीका अनुसार उनीहरूले प्रतिव्यक्ति ३० हजार रुपैयाँभन्दा बढी ज्याला पाउन बाँकी छ। लामो समयसम्म काम गर्दा पनि ज्याला नपाउँदा दसैँमा घर फर्किन नसक्ने अवस्था आएको उनले बताए।

“एक जनाको ३० हजार रुपैयाँभन्दा बढी लिन बाँकी छ। कुल ३६ जनामध्ये २४ जनाले सरसापट र घरबाटै पैसा मगाएर गए,” कार्कीले भने, “हामी १२ जनाको भने बिचल्ली भयो। घर पुग्न तीन दिन लाग्छ, बाटो खर्च मात्रै पाए पूर्णिमाअगाडि भए पनि पुगिन्थ्यो कि भन्ने आश छ।”

ADVERTISEMENT

ठेकेदारले रकम दिने आश्वासन दिँदै पटकपटक समय सार्ने गरेको कार्कीको गुनासो छ। काम गरेको पैसा पाउने आशमा बसेका मजदुरलाई दसैँको मुखमा घर जान नपाउँदा थप पीडा भएको उनले बताए।

सल्यानकै सुशील खत्री र सुर्खेतका काशीराम विकको अवस्था पनि उस्तै छ। परिवारसँग दसैँ मनाउने र छोराछोरीका लागि नयाँ कपडा तथा मिठो खानेकुरा लैजाने चाहना भए पनि हातमा पैसा नहुँदा उनीहरू निराश बनेका छन्।

“छोराछोरीले नयाँ कपडा र मिठो खानेकुरा ल्याउला भनेर बाटो पर्खिरहेका छन्। तर आफैँ जाने भाडासम्म छैन,” विकले भावुक हुँदै भने, “हामी मजदुरको चाहिँ दसैँ नहुने हो र? जसरी भए पनि घर जाने वातावरण बनाइदिनुपर्‍यो।”

पुल निर्माणमा खटिएका सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक गरी १२ जना मजदुर हाल साविक नवदुर्गा आधारभूत विद्यालयको भवनमा बसिरहेका छन्। ज्याला नपाएर घर फर्किन नसकेका उनीहरूलाई पुल बगैँचाका स्थानीय बासिन्दाले खाद्यान्न सहयोग गरिरहेका छन्।

चाडपर्वका बेला आफ्ना परिवारसँग रमाउनुपर्ने मजदुरहरू विद्यालयको भवनमा बस्न र स्थानीयले दिएको खाद्यान्नबाट गुजारा चलाउन बाध्य छन्। दिनरात मेहनत गरेर पुल निर्माणमा खटिए पनि पारिश्रमिक नपाउँदा उनीहरूलाई आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन भएको छ।