काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो।
दसैँ बिदाका कारण नागरिक अत्यावश्यक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पताल पूर्ण रूपमा बन्द नगर्न र कुनै पनि अवस्थामा अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन मन्त्रालयले निर्देशन दिएको छ।
त्यस्तै, बिदाको अवधिमा सेवा प्रवाह सहज बनाउन आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थलगायत सामग्री पर्याप्त मौज्दात राख्न पनि मन्त्रालयले भनेको छ।










