काठमाडौं । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

ADVERTISEMENT

ओमान १२औँ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाएर संकटमा परेको थियो। त्यसपछि विनायकले जय ओडेरासँग मिलेर ८३ रनको साझेदारी गरे। ओडेरा २५ रन बनाएर आउट भए।

ADVERTISEMENT

नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान ३ विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

ADVERTISEMENT

करण केसीले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाए। उनले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसलको बलमा पनि छक्का हाने।

नेपालका अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पाण्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान २ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए।

यस जितसँगै लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ। ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ।

नेपालले अब आगामी शनिबार क्यानडासँग खेल्नेछ।