धनगढी । कञ्चनपुरमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा पाँच जना पक्राउ परेका छन्।
बेलौरी नगरपालिका–९ रतनपुरका किशोरलाई अपहरण गरी स्थानीय खजुवा जंगलमा लगेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले उनीहरू पक्राउ परेको जानकारी दिएका हुन्।
प्रहरीका अनुसार पाँचै जनाले असोज २३ गते साँझ किशोरलाई जंगलमा पुर्याएर खुकुरी देखाउँदै धाकधम्की दिई कुटपिट गरेका थिए।
उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









