काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रही कानुनको शासन कायम गर्न निर्देशन दिएका छन्।

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सङ्गठनको छवि उच्च राख्न इमानदारी, अनुशासन र नैतिकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

ADVERTISEMENT

करिब १६ महिनाको कठोर तालिम पूरा गरेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गरे। संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले नागरिकको जिउधनको सुरक्षा, अपराध अनुसन्धान र देशमा शान्ति सुरक्षा कायम गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै यसमा कुनै सम्झौता नगर्न प्रहरी अधिकृतहरूलाई आग्रह गरे।

उनले बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई वैज्ञानिक, निष्पक्ष र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग आवश्यक रहेको बताए। अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।

ADVERTISEMENT

समारोहमा प्रधानमन्त्री शाहले प्रहरी अधिकृतहरूलाई सङ्गठनको मर्यादा र प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थ तथा अनुचित प्रभावमा नपर्न सचेत गराए। नैतिकता, निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहितालाई कार्यसम्पादनको आधार बनाउनुपर्ने उनको भनाइ थियो।

दीक्षान्त समारोहमा प्रशिक्षार्थीका अभिभावक तथा प्रहरी नेतृत्वको उपस्थिति रहेको थियो। तालिम पूरा गरेका प्रहरी निरीक्षकहरू अब देशका विभिन्न क्षेत्रमा खटिएर प्रहरी सेवामा योगदान पुर्‍याउनेछन्।