काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि तल्लो क्षेत्रमा बहाव बढेको छ। बाढीले दुई वटा पुल र विभिन्न होटलमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ठूलो पहिरो खसेर नदी थुनिएको खबर स्थानीय होटल सञ्चालकहरूले गरेका थिए। नदी थुनिएको जानकारी पाएलगत्तै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्रहरी परिचालन गरिएको उनले बताए।

ADVERTISEMENT

नदीमा पानीको बहाव बढेसँगै चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुगेको छ। बाढीले चुमनुब्री–३ स्थित न्याक्चेत र सिर्दिबास बजार जोड्ने झोलुङ्गे पुल बगाएको छ। धार्चे गाउँपालिकामा रहेको मासीखोलाको पुल पनि बाढीले बगाएको प्रहरी निरीक्षक कँडेलले जानकारी दिए।

ADVERTISEMENT

बाढीले चुमनुब्रीस्थित न्याकफेदीका होटलहरू बगाएको छ भने घट्टेखोलामा सञ्चालित होटलहरूमा पानी पसेको छ।

त्यस्तै, धार्चे गाउँपालिका–३ स्थित सल्लेरीमा घरहरू बगाएको खबर आएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा पनि प्रहरी परिचालन गरिएको छ।

ADVERTISEMENT

प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन हेलिकोप्टरबाट निरीक्षण सुरु गरिएको छ। बाढीबाट भएको क्षति र थप जोखिमबारे विवरण संकलन भइरहेको छ।