काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ ।
यो बाढीले तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ । त्यसैले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतिका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम छ । त्यसैले यी क्षेत्रमा रहेका बासिन्दा सतर्क हुनुपर्ने उनले बताए ।
मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाबाट पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस पठाइसकिएको छ । महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान छ । त्यसैले आरुघाटसम्मै सतर्क रहन आग्रह गर्दै एसएमएस पठाइएको उनले बताए ।
गोर्खाको चुमनुम्ब्री गाउँपालिका वडा नम्बर ६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । बूढीगण्डकी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्ने गरेको छ ।
बाढीको कारण अहिलेसम्म खुलेको छैन । माथिल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । कतै पहिरो गएर बहाव रोकिएको र पछि बाँध फुटेर आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् प्राधिकरणले जनाएको छ ।







