काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कृत्रिम बौद्धिकता (एआई) र प्रविधिको तीव्र विकाससँगै अघि बढ्न नेपालले शिक्षा र मानव संसाधनमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्।
शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै थापाले विद्यालय तहको सिकाइमा देखिएको संकट समाधान गरी विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउनुपर्ने बताएका हुन्।
उनले बदलिँदो विश्व परिवेशमा बालबालिकालाई गुणस्तरीय शिक्षा, सिक्ने सीप, आत्मविश्वास र मानसिक दृढता दिनु प्रमुख दायित्व भएको बताए। बालबालिकालाई आफ्नो संस्कार र माटोसँग जोड्दै विश्व नागरिकका रूपमा तयार गर्नुपर्ने उनको भनाइ थियो।
थापाले शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिका रूपमा विकास गर्ने अवसर विगतमा गुमाइएको उल्लेख गर्दै अब त्यसलाई पुनर्स्थापित गर्न आवश्यक रहेको बताए।
वर्तमान शिक्षण विधिमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले अब के सिकाउने भन्नेभन्दा पनि कसरी सिक्ने भन्ने कुरा सिकाउनु महत्त्वपूर्ण रहेको बताए। केही वर्षभित्रै प्रत्येक विद्यार्थीसँग एआई ट्युटर हुन सक्ने सम्भावना औँल्याउँदै उनले प्रविधिको परिवर्तनअनुसार शिक्षण प्रणालीलाई परिमार्जन गर्नुपर्ने धारणा राखे।
उनले नेपालको सबैभन्दा ठूलो शक्ति जलस्रोतभन्दा पनि मानव संसाधन भएको बताए। विद्यालय र बालबालिकामा सबैभन्दा ठूलो लगानी गर्नुपर्ने उल्लेख गर्दै उनले स्थानीय संस्कार र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए।
कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आफ्नो गाउँ र आफूलाई हुर्काएको विद्यालयको कार्यक्रममा पहिलो सार्वजनिक सहभागिता जनाउन पाएकोमा थापाले खुसी व्यक्त गरे।







