काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पहिलो पोस्टरमार्फत पाँच पाण्डवका पात्र सार्वजनिक गरेको निर्माण टिमले दोस्रो पोस्टरमार्फत द्रोपदीको चरित्र सार्वजनिक गरेको हो।
चलचित्रमा द्रोपदीको भूमिकामा इभा गिरी देखिएकी छन्। रातो सारी र रातो सोल्जर कट ब्लाउजमा हल्का गहनासहित प्रस्तुत इभाको लुक्सले महाभारतकी द्रोपदीको झल्को दिने प्रयास गरेको छ।
पोस्टरको पृष्ठभूमिमा चलचित्रका पाँच पाण्डवलाई राखिएको छ। पहिलो पोस्टरमा रथमा देखाइएका पाँच पाण्डवलाई दोस्रो पोस्टरको पृष्ठभूमिमा राख्दै निर्माण टिमले चलचित्रका मुख्य पात्रलाई पुनः स्मरण गराउने प्रयास गरेको छ।
पहिलो पोस्टरमा युधिस्टिरको भूमिकामा हरिवंश आचार्य, भीममा जितु नेपाल, अर्जुनमा आर्यन सिग्देल, नहकुलमा महेश त्रिपाठी र सहदेवमा सुशील सिटौलालाई प्रस्तुत गरिएको थियो।
निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रोपदी अवतार दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार युवा पुस्तामाझ लोकप्रिय इभाको यो चरित्रले पनि दर्शकको ध्यान खिच्नेछ।
तिहारको छेको पारेर कात्तिक २० गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ। चलचित्रको सम्पूर्ण साउन्ड डल्बी एटमसमा तयार पारिएको निर्माण पक्षले जनाएको छ।
निर्देशक निरौलाका अनुसार दर्शकले चलचित्र हेर्दा पूर्ण डल्बी एटमस साउन्डको अनुभव लिन पाउनेछन्। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा नेपाली फिल्म क्षेत्रका पुराना पुस्ताका दिग्गजदेखि नयाँ पुस्ताका चर्चित कलाकारसम्मको अभिनय छ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पाण्डवको भूमिकामा छन्। त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायत कलाकारको पनि मुख्य भूमिका रहेको छ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन्। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्।







