विराटनगर । पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ ।
पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । प्रेम विवाह गरेका ओसीम–प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिर पुगेका बेला भिडिओ बनाएका थिए ।
उनीहरूले बनाएको भिडिओमा ओसीमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएको थियो । सोही विषयलाई लिएर सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन् ।
त्यसपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध जाहेरी दिएको बताइएको छ ।इटहरीस्थित घरमा रहेका उनीहरू दुवैलाई प्रहरीले आज पक्राउ गरेको हो ।
यसअघि अन्सारी दम्पतीले एक भिडिओमार्फत स्पष्टीकरण दिँदै आफूहरू मन्दिरको मुख्य गर्भगृह वा भित्री भागमा प्रवेश नगरेको बताएका थिए । उनीहरूका अनुसार मन्दिरको मूल ढोकाबाट भित्र प्रवेश गरे पनि भर्याङबाटै आफूहरूलाई फर्काइएको थियो ।
प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको र श्रीमानलाई पनि मन्दिर देखाउन आफू त्यहाँ गएको बताएकी थिइन् । ओसीम अन्सारी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन् । उनी इटहरी–८ का स्थायी बासिन्दा हुन् ।
पक्राउपछि उनीहरूलाई काठमाडौं पठाइएकाले घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त गौशालाले गर्नेछ ।







