काठमाडौं । सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुरलगायत विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। नख्खु कारागारमा रहेका भट्टलाई शनिबार सिन्धुपाल्चोक कारागार पुर्याइएको हो। तर उनलाई के कारणले स्थानान्तरण गरिएको हो भन्नेबारे कारागार व्यवस्था विभाग र कारागार कार्यालय नख्खुले स्पष्ट जानकारी दिएका छैनन्।
नख्खु कारागारका जेलर दीर्घराज उपाध्यायले भट्टलाई आवश्यकता अनुसार सिन्धुपाल्चोक सरुवा गरिएको बताए।‘उहाँलाई आवश्यकता अनुसार यहाँबाट सिन्धुपाल्चोक सरुवा गरिएको हो। उहाँलाई शनिबार नै सिन्धुपाल्चोक पुर्याइएको थियो,’ उनले भने।नख्खु कारागार स्रोतका अनुसार भट्टले कारागारमा आफ्ना वकिल र परिवारका सदस्यबाहेक सीमित व्यक्तिसँग मात्रै भेटघाट गर्दै आएका थिए। अन्य व्यक्तिले भेट्न खोज्दा पनि उनले भेट नगरेको स्रोतको दाबी छ।
तीन अवस्थामा कारागार स्थानान्तरण
कारागार विभागका अनुसार बन्दीलाई एक कारागारबाट अर्को कारागारमा स्थानान्तरण गर्ने विभिन्न आधार हुन्छन्।पहिलो, सुरक्षा जोखिम। कुनै बन्दीलाई सम्बन्धित कारागारमा सुरक्षा चुनौती रहेको महसुस भएमा अर्को कारागारमा स्थानान्तरण गर्न सकिन्छ।
दोस्रो, कारागारमा ठाउँको अभाव। क्षमताभन्दा बढी कैदीबन्दी रहेको अवस्थामा व्यवस्थापनका लागि पनि बन्दी स्थानान्तरण गर्ने गरिन्छ।तेस्रो, बन्दी स्वयंको अनुरोध। कुनै बन्दीले अर्को कारागारमा सरुवा गरिदिन अनुरोध गरेमा पनि आवश्यक प्रक्रिया पूरा गरी स्थानान्तरण गर्न सकिने व्यवस्था छ।यीमध्ये कुन कारणका आधारमा भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारिएको हो भन्ने भने अहिलेसम्म खुलेको छैन।
बुबाले दायर गरेका छन् बन्दी प्रत्यक्षीकरणको रिट
यसैबीच, भट्टका बुबा चतुर्भुजले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।गत बिहीबार असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले तीन दिनभित्र लिखित जवाफ पेस गर्न विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का नाममा आदेश दिएको थियो।
भट्टमाथि सम्पत्ति शुद्धीकरण, बिमा ऐनसम्बन्धी कसुर, बैंकिङ कसुर, धितोपत्रसम्बन्धी कसुर तथा विदेशी विनिमय ऐनसम्बन्धी कसुर गरेको आरोप छ।उनीविरुद्ध सीआईबी र सम्पत्ति शुद्धीकरण विभागले छुट्टाछुट्टै मुद्दा दायर गरेका छन्। त्यस्तै, उनीविरुद्ध विशेष अदालत, उच्च अदालत र जिल्ला अदालत काठमाडौंमा समेत छुट्टाछुट्टै मुद्दा विचाराधीन छन्।











