चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित भीमवली पार्क आइतबार बिहानैदेखि थारू संस्कृति र लोकभाकाले गुञ्जायमान थियो। परम्परागत थारू पोसाकमा सजिएका महिलाहरू हातमा बाँसका डलिया बोकेर समूहबद्ध हुँदै गीत गाउँदै बेलको रुखतर्फ अघि बढिरहेका थिए। वातावरणमा जितिया पर्वको धार्मिक आस्था र सांस्कृतिक रौनक एकसाथ देखिन्थ्यो।

भीमवली थारू महिला समूहकी अध्यक्ष बाल्कूमरी महतोका अनुसार जितिया थारू समुदायका महिलाका लागि महत्वपूर्ण पर्व हो। विवाहित महिलाहरूले छोराछोरीको दीर्घायु, सुख र राम्रो भविष्यको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित युवतीहरूले राम्रो पढाइ, असल घरपरिवार र राम्रो वरको कामना गर्दै जितबाहन भगवानको पूजा गर्ने परम्परा छ।

ADVERTISEMENT

जितियाको विशेषता धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यससँग जोडिएका लोकगीत, नृत्य र सामूहिक गतिविधिले थारू समुदायको पुस्तौँ पुरानो सांस्कृतिक ज्ञान र सामाजिक सम्बन्धलाई समेत जीवित राखेका छन्।

ADVERTISEMENT

पार्कतर्फ जाने क्रममा महिलाहरूले गाउने लोकगीतलाई थारू भाषामा ‘डग्रोट’ भनिन्छ। यसमा नन्द र भाउजू मिलेर धार्मिक भजन सुन्न तथा बेलपत्र टिप्न जाने प्रसङ्ग समेटिएको हुन्छ। बेलको रुखमुनि पुगेपछि ‘बाबाको बारी’ गीत गाइन्छ। उक्त गीतमा वर्षभरि पर्वको प्रतीक्षा गरेका छोरीहरू उपवास बसेर हातमा अंकुसी र डाली बोकी बाबाको बारीमा बेलपत्र टिप्न पुगेको कथा प्रस्तुत गरिन्छ।

अध्यक्ष महतोका अनुसार बेलपत्र टिप्दा समेत निश्चित धार्मिक विधि पालना गरिन्छ। पहिलो बेलपत्र पृथ्वी मातालाई, दोस्रो आकाशलाई र तेस्रो सूर्य नारायणलाई अर्पण गरिन्छ। चौथो बेलपत्र आफ्नै हृदयमा लगाएपछि मात्र पाँचौँ बेलपत्र डालीमा राख्ने परम्परा छ। यसरी पाँचवटै ‘कली’ पूरा गरेपछि मात्र महिलाहरू डाली लिएर घर फर्किन्छन्।

ADVERTISEMENT

तीन दिनसम्म चल्ने कडा व्रत

जितिया पर्वको धार्मिक अनुष्ठान तीन दिनसम्म चल्छ। पर्वको पहिलो दिन सप्तमीमा दर खाने चलन छ, जसलाई थारू भाषामा ‘डटकट’ भनिन्छ।

दोस्रो दिन बिहानै नुहाइधुवाइ गरी महिलाहरू व्रत बस्छन् र बेलपत्र सङ्कलन गर्छन्। त्यसपछि नदीमा पुगेर ‘जरहरी’ मनाउने तथा बर्मथानमा जल चढाउने परम्परा छ। सोही क्रममा पिपलको हाँगा ल्याएर विष्णु भगवानको प्रतीकका रूपमा जितबाहन स्थापना गरिन्छ। त्यसमा चिल अर्थात् ‘चिल्लो’ माथि र स्याल अर्थात् ‘सिएरो’ तल राखेर जितबाहनको कथा सुन्ने गरिन्छ।

कथा सुनेपछि विवाहित महिलाहरू दिनभरि पानीसमेत नखाई निर्जला व्रत बस्छन्। अविवाहित युवतीहरूले भने कथा सुनेपछि दही, दूध र फलफूल खाएर फलाहार गर्ने चलन रहेको महतो बताउँछिन्।

पर्वको तेस्रो दिन नवमीमा जितबाहन तथा चिल्लो–सिएरोलाई नदीमा विसर्जन गरिन्छ। त्यसपछि माटोबाट ‘गौरगाङ्ग’ बनाएर सिन्दूर र काजल लगाई पूजा गर्ने गरिन्छ। अघिल्ला दिनमा उमारेर राखिएको मासको दाल अर्थात् ‘जाकुरी’ले गौरगाङ्गलाई ढाक्ने परम्परा पनि जितियाको महत्वपूर्ण पक्ष हो।

थारू समुदायमा जाकुरीलाई व्रतको शुद्धता र आस्थासँग जोडेर हेर्ने विश्वास छ। मनदेखि इमानदार भएर निर्जला व्रत बसेको अवस्थामा जाकुरी राम्रोसँग उम्रने र देखावटी रूपमा व्रत बसेमा राम्रोसँग नउम्रने जनविश्वास रहेको महतो बताउँछिन्।

हराउँदै छन् मौलिक भाका र सामूहिक परम्परा

जितिया पर्व धार्मिक अनुष्ठानसँगै थारू समुदायको मौलिक सांस्कृतिक पहिचानसँग पनि जोडिएको छ। तर आधुनिक जीवनशैलीसँगै यस पर्वका पुराना सामूहिक अभ्यास र लोकभाका विस्तारै कमजोर हुँदै गएकोमा थारू समुदायका अगुवाहरू चिन्तित छन्।

महतोका अनुसार विगतमा दर खाने दिन आउनुभन्दा एक महिनाअघिदेखि नै गाउँका महिलाहरू भेला भएर थपडी बजाउँदै ‘झम्टा’ नाच्ने र सामूहिक रूपमा खुसी साट्ने गर्थे। दर खाएपछि बिहान सूर्य उदाउने बेलासम्म ‘बधावा’ गीत गाउने परम्परा पनि थियो।

तर अहिले त्यस्ता मौलिक भाका, सामूहिक नाचगान र परम्परागत अभ्यास कम हुँदै गएका छन्। त्यसैले जितियालाई केवल व्रत र पूजाको पर्वका रूपमा नभई थारू समुदायको भाषा, गीत, लोककथा, सामाजिक सम्बन्ध र पुस्तौँ पुरानो सांस्कृतिक ज्ञानसँग जोडेर संरक्षण गर्नुपर्नेमा उनी जोड दिन्छिन्।

“यो हाम्रो मौलिक पर्व र पहिचान हो। देश–विदेश जहाँ भए पनि थारू समुदाय एकजुट भएर आफ्नो संस्कृति जोगाउन आवश्यक छ,” महतोको भनाइ छ।

यसरी जितियामा महिलाहरूको धार्मिक आस्था र सन्तानको सुख–समृद्धिको कामनासँगै थारू समुदायको मौलिक लोकसंस्कृति, पुस्तान्तरण हुँदै आएको ज्ञान र सामूहिक जीवनशैलीसमेत जोडिएको देखिन्छ।