काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै वीरगञ्ज निवासी अन्सारीले विगत १० दिनदेखि पीजी विद्यार्थीहरू आन्दोलनमा रहेको र उनीहरूलाई होस्टेल खाली गर्न, आन्दोलन गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे ।

ADVERTISEMENT

उनका अनुसार विद्यार्थीहरूले मेडिकल कलेजमा भइरहेको अनियमितताबारे आवाज उठाएपछि उनीहरूमाथि कलेज प्रशासनले रोक लगाउने प्रयास गरेको हो ।

ADVERTISEMENT

अन्सारीले नेशनल मेडिकल कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ अर्थात् काममा नरहेका प्राध्यापक देखाएर पीजी सिट लिइएको आरोप समेत लगाए । उनले चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत कलेज व्यवस्थापनले सुरक्षागार्डलाई नक्कली बिरामी बनाएर इमर्जेन्सी हलमा राखेको दाबीसमेत गरे ।

‘त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर (कामै नगर्ने प्रोफेसरहरु) नक्कली प्रोफेसरहरु देखाएर पीजी सिट लिइएको छ,’ अन्सारीले भने, ‘चिकित्सा शिक्षा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा त्यहीँका सुरक्षागार्डहरुलाई मरिज (बिरामी) बनाएर, पानी चढाउ भनेर कलेजको म्यानजेमेन्टले फोर्स गरेका छन् ।’

यसप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाइएका कलेजहरुलाई राज्यले आफ्ना गहनाहरु (विद्यार्थीहरु)को भविष्य अन्योलमा पार्न मिल्दैन ।’

ADVERTISEMENT

अन्सारीले विगतदेखि नै यस्ता गतिविधि हुँदै आएको दाबी समेत गरे । तर सम्बन्धित मेडिकल कलेजमाथि कारबाही हुन नसक्नुमा राज्यका निकायमाथि प्रभाव र दबाब रहेको आरोपसमेत लगाए ।

‘विगतमा पनि यो चल्दै आएको छ,’ उनले भने, ‘किनभने विगतमा पहिलेका सम्मानीयज्यूहरुका बेडरुमसम्म पुगेर, बर्थडे केक काटेर नाइटोमुनि दुइटा हात बाँधेर फोटो खिचाएपछि राज्यका सम्पूर्ण संरचना, चाहे त्यो चिकित्सा शिक्षा आयोग होस्, चाहे टियुको डिन कार्यालय होस्, चाहे देशका सिडिओ होउन्, एसपी होउन्, सबैले तर्सेर उहाँहरुलाई अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन ।’

उनले आफ्नो भनाइ कुनै एउटा संस्थाविरुद्धको आरोप नभई चिकित्सा शिक्षामा देखिएको बेथिति अन्त्य गर्नुपर्ने विषय भएको स्पष्ट पारे ।

यी बेथितीका विषय उठाएर विद्यार्थीहरुले १० दिन अघिदेखि आन्दोलन गर्दा कलेज प्रशासनले होस्टेल खाली गर्न लगाएको र कलेजको गेटबाट प्रवेश गर्न रोक लगाएको आरोप समेत लगाए ।

आन्दोलनरत विद्यार्थीमध्ये करिब आधा विद्यार्थी काठमाडौंमा रहेको भन्दै अन्सारीले आन्दोलनरत विद्यार्थीहरूका माग पूरा गर्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।