काठमाडौं । भारतको गुजरात प्रदेश सरकारले फ्लाई दुबईका क्याप्टेन स्मित मच्छरलाई ‘विशिष्ट गुजरात गरिमा अवार्ड’ प्रदान गर्ने भएको छ।
भारतीय नागरिक पाइलट मच्छरलाई विमानमा भएको आक्रमणका क्रममा यात्रुहरूको ज्यान बचाएको भन्दै गुजरात सरकारले उक्त सम्मान प्रदान गर्न लागेको हो। गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले बिहीबार सामाजिक सञ्जालमार्फत अवार्ड दिने घोषणा गरेका हुन्।
मुख्यमन्त्री पटेलले क्याप्टेन स्मित मच्छरको असाधारण साहस र मानवीय भावनाको कदर गर्दै गुजरात सरकारले उनलाई ‘विशिष्ट गुजरात गरिमा अवार्ड’ले सम्मान गर्ने बताएका छन्।
दुबईबाट इजरायलतर्फ उडेको फ्लाई दुबईको विमानमा सहपाइलटले ककपिटमा आक्रमण गरेपछि मच्छर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनले सहपाइलटलाई नियन्त्रणमा लिन प्रतिरोध गर्नुका साथै ककपिटको ढोका खोल्न सफल भएका थिए।
त्यसपछि यात्रु तथा चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए। विमानलाई साउदी अरबको ताबुकमा आपत्कालीन अवतरण गराइएको थियो। विमानमा १७४ जना यात्रु तथा अन्य सदस्य थिए।
मुख्यमन्त्री पटेलले आक्रमणबाट गम्भीर घाइते हुँदाहुँदै पनि मच्छरले अदम्य साहस प्रदर्शन गरेर १७४ यात्रुको ज्यान बचाएको उल्लेख गरेका छन्। ‘आज सम्पूर्ण विश्वले क्याप्टेन मच्छरको साहसलाई सलाम गरिरहेको छ,’ पटेलले सामाजिक सञ्जालमा लेखेका छन्।
मच्छर हाल उपचाररत छन्। उनको साहसको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेताले प्रशंसा गरेका छन्।







