काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ साझेदारी सुविधासम्बन्धी सम्झौता भएको छ।
स्मल लोन ग्यारेण्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्नेछ।
यस व्यवस्थाले देशभरका एमएसएमईमा कर्जा विस्तार गर्ने बैंकको क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ। बैंकका अनुसार नेपालमा आईएफसीको यो पहिलो जोखिम साझेदारी पहल हो।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले आईएफसीसँगको ४ करोड अमेरिकी डलरको जोखिम साझेदारी एमएसएमई कर्जा पोर्टफोलियो विस्तारका लागि महत्वपूर्ण कदम भएको बताए।
उनका अनुसार चुनौतीपूर्ण आर्थिक परिस्थितिमा रहेका साना व्यवसायीलाई कर्जा प्रवाह गर्ने बैंकको क्षमता यस सुविधाले थप बलियो बनाउनेछ। विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै एमएसएमई क्षेत्रमा कर्जा विस्तारमार्फत उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा योगदान गर्ने बैंकको लक्ष्य रहेको उनले बताए।
यो सम्झौताले सिद्धार्थ बैंक र आईएफसीबीचको लामो समयदेखिको सहकार्यलाई समेत थप विस्तार गरेको छ। सन् २०१४ मा सिद्धार्थ बैंक आईएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा आबद्ध भएको थियो। त्यसपछि बैंकलाई विश्वव्यापी करेस्पोन्डेन्ट बैंकहरूको सञ्जालसँग जोडिन सहज भएको बैंकले जनाएको छ।
त्यसैगरी, सन् २०२३ मा सिद्धार्थ बैंकले आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलर बराबरको सिन्डिकेटेड कर्जा सुविधा लिएको थियो। बैंकका अनुसार उक्त कर्जा नेपालको वित्तीय क्षेत्रमा आईएफसीबाट प्रवाह भएको ठूलो तथा पहिलो विदेशी मुद्राको सिन्डिकेटेड कर्जा थियो।
यसका अतिरिक्त, जोखिम व्यवस्थापन, लैङ्गिक वित्त, डिजिटल वित्त तथा जलवायु वित्तका क्षेत्रमा संस्थागत क्षमता अभिवृद्धिका लागि पनि सिद्धार्थ बैंकले आईएफसीसँग परामर्श सेवामार्फत सहकार्य गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि आईएफसीसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।







