काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिताबारे सरकारले संसद्लाई जानकारी नगराएको भन्दै प्रतिनिधिसभामा प्रश्न उठाइएको छ। प्रधानमन्त्री शाह महासभामा सहभागी भएर स्वदेश फर्किसकेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी दिने स्थापित संसदीय परम्परा सरकारले पालना नगरेको भन्दै आपत्ति जनाएकी हुन्।

ADVERTISEMENT

उनले भनिन्, ‘प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी दिने परम्परा छ, तर उहाँले भ्रमणमा जाने बेलामा पनि सदनलाई जानकारी दिनुभएन।’ प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन न्युयोर्क गएका थिए र असोज १० गते स्वदेश फर्किएका छन्।

ADVERTISEMENT

प्रधानमन्त्री स्वदेश फर्किएपछि पनि भ्रमणका क्रममा भएका भेटवार्ता र त्यहाँ राखिएका धारणाबारे सदनलाई जानकारी नगराइएको भन्दै हमालले असन्तुष्टि व्यक्त गरिन्।

‘सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ। भ्रमणका बारेमा सदनमा जवाफ आउनुपर्छ,’ उनले भनिन्। उनले प्रधानमन्त्रीको भ्रमण र त्यस क्रममा भएका छलफल सार्वजनिक सरोकारका विषय भएको भन्दै सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।

ADVERTISEMENT

संसदीय व्यवस्थामा प्रधानमन्त्रीले महत्त्वपूर्ण विदेश भ्रमणका विषयमा सदनलाई जानकारी गराउने अभ्यास रहेको उल्लेख गर्दै उनले यस विषयलाई गम्भीरताका साथ लिन आग्रह गरिन्।