काठमाडौं । कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले रसुवा बाढी प्रभावितलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छताका सामग्री सहयोग गरेका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएर काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकलाई सामग्री हस्तान्तरण गरिएको हो।
बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको तर्फबाट प्रभावितलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्। प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर सहयोग गरिएको बैंकले जनाएको छ।

बैंकका महिला कर्मचारीको सहभागितामा आवश्यक सरसफाइ सामग्री संकलन गरिएको थियो। संकलित सामग्री प्रभावितलाई वितरण गरिएको हो।
बाढी तथा अन्य विपद्को अवस्थामा खाद्यान्न, आवास र राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका सामग्री पनि आवश्यक हुने बैंकले जनाएको छ।

प्रभावित नागरिकको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले सहयोग गरिएको बैंकको भनाइ छ। यसअघि पनि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि सहयोग गरेको थियो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु. १० लाख सहयोग गरेको थियो। त्यस्तै, बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत रु. १५ लाख सहयोग गरिएको थियो। यसरी बैंक र कर्मचारीबाट गरी कुल रु. २५ लाख सहयोग गरिएको हो।
उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार संस्थागत सहयोगसँगै कर्मचारी स्तरबाट गरिएको मानवीय सहभागिताले सामाजिक उत्तरदायित्व र सहकार्यको भावना थप बलियो बनाएको छ।

कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। बैंकले विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका क्षेत्रमा सहयोग गर्दै आएको छ।
आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने बैंकले प्रतिबद्धता जनाएको छ।









