धनगढी । कैलालीको लम्कीचुहा दीपक सुनारको हत्या गरेको आरोपमा पक्राउ परेकी उनकी श्रीमती यमुना विक सुनारसहित पाँचै जना प्रतिवादीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
अदालतले यमुना विक सुनार, दुर्योधन सुवर्णकार, राम राजेश महतो, वीरेन्द्र राना र भीमराज रानालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा (१) को देहाय (क) बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न न्यायाधीश इन्द्रबहादुर कठायत आदेश दिएका हुन् ।
कैलाली जिल्ला अदालतका श्रेस्तेदार उपसचिव तेजराज पन्तले अदालतको आदेशअनुसार पाँचै जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाइएको जानकारी दिए।
अदालतको आदेशमा प्रतिवादीहरूले पूर्वयोजना बनाई दीपक सुनारको हत्या गरी शव बेपत्ता पारेको आरोपमा किटानी जाहेरी परेको उल्लेख छ। उक्त जाहेरीलाई समर्थन गर्ने बरामद तथा खानतलासी मुचुल्का, घटनास्थल लास जाँच मुचुल्का, सर्जमिन मुचुल्का, कलडिटेल तथा लोकेसन विवरणसमेत मिसिलमा संलग्न रहेको अदालतले जनाएको छ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले दिएको बयानअनुसार यमुना र दुर्योधनबीचको सम्बन्ध तथा दीपकसँगको विवादपछि हत्या योजना बनेको आरोप छ। योजनाअनुसार यमुनाले पूजा गर्ने बहानामा दीपकलाई अमरावती जंगलमा लगेको र त्यहाँ अन्य प्रतिवादीहरूले हतियार प्रहार गरी हत्या गरेको बयानमा उल्लेख छ।
अनुसन्धानमा दिइएको बयानअनुसार हत्या गरेपछि दीपकको शव प्लास्टिक तथा झोलामा प्याक गरी कर्णाली नदीमा फालिएको थियो। यद्यपि, अदालतसमक्ष पाँचै जना प्रतिवादीले आफूहरूमाथिको आरोप अस्वीकार गरेका छन्।
मृतककी नाबालक छोरीले दिएको घटना विवरण कागज, प्रतिवादीहरूबीच भएको फोन तथा म्यासेज आदानप्रदान, वारदातको समयमा देखिएको लोकेसन तथा घटनास्थलबाट संकलित नमुनाको फरेन्सिक परीक्षणलाई समेत अदालतले प्रमाणका रूपमा लिएको छ।
घटनास्थलबाट संकलित नमुनामा मानव रगत तथा मानव रौँ भेटिएको र डीएनए परीक्षणसम्बन्धी प्रतिवेदनसमेत मिसिलमा संलग्न रहेको अदालतको आदेशमा उल्लेख छ।
उपलब्ध प्रत्यक्ष तथा परिस्थितिजन्य प्रमाणका आधारमा प्रतिवादीहरूलाई तत्काल निर्दोष भन्न सकिने अवस्था नरहेको ठहर गर्दै अदालतले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
अदालतले मुद्दामा थप प्रमाण बुझ्दै जाने र पछि ठहरेबमोजिम हुने जनाएको छ। पाँचै जनालाई अदालतले दोषी ठहर गरिसकेको भने छैन।








