काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरका ३ पालिका र डडेलधुराको एउटा पालिकामा वर्षाका कारण प्रभाव पर्नसक्ने क्षेत्र सार्वजनिक गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले आज दिउँसो कञ्चनपुरका दोधाराचाँदनी, वेदकोट र भीमदत्त नगरपालिका तथा डडेलधुराको परशुराम नगरपालिकाका लागि प्रभावमा आधारित मौसम पूर्वानुमान सार्वजनिक गर्दै सो आग्रह गरेको हो ।

ADVERTISEMENT

२०८१ साल असारमा कञ्चनपुरको दोधाराचाँदनीमा २४ घण्टाको अवधिमा नेपालको इतिहासकै सबैभन्दा बढी वर्षा रेकर्ड भएको थियो । कञ्चनपुरको दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । यो नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड हो । मौसम विज्ञान विभागले सो वर्षालाई ‘तराई क्लाउड बर्ष्ट’ नाम दिएको छ ।

ADVERTISEMENT

अहिले फेरि नयाँ वर्षा प्रणालीले दोधारा चाँदनीमा पनि जोखिम हुनसक्ने पूर्वानुमान गरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो जारी गरेको प्रभावमा आधारिम मौसम बुलेटिनमा दोधारा चाँदनी नगरपालिकामा असोज ९ गतेदेखि ११ गते रातिसम्म निरन्तर वर्षा हुनसक्ने सम्भावना रहेको उल्लेख छ ।

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको तयारी तीव्र पारिएको छ ।

ADVERTISEMENT

डडेलधुराको परशुराममा ७ वटा वडा प्रभावित हुनसक्ने

डडेलधुराको परशुराम नगरपालिकामा असोज ९ देखि ११ गतेसम्म निरन्तर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै स्थानमा मध्यम वर्षा तथा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । जसका कारण बाढीपहिरोले सडक अवरुद्ध हुन सक्ने जोखिमबारे सचेत गराइएको छ ।

विशेषगरी वडा नम्बर वडानम्बर १, २, ६, ७, ८, १० र ११ नम्बर वडा प्रभावित हुनसक्ने सम्भावना औंल्याइएको छ ।

यी वडाहरुमा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनुका साथै घर, गोठ, खेतबारी तथा अन्य संरचनामा पनि क्षति पुर्‍याउन सक्ने जोखिम समेत औंल्याइएको छ । कृषि क्षेत्रमा वर्षाको प्रभाव पर्दा धानबालीमा पानी जमेर क्षति पुग्न सक्ने तथा सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा असुविधा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना नियमित रूपमा प्रवाह गर्न, जोखिमयुक्त बस्ती, नदी तटीय क्षेत्र तथा डुबान सम्भावित स्थानका नागरिकलाई समयमै जानकारी गराउन स्थानीय तहलाई सुझाव दिएको छ ।

दोधारा चाँदनीको कुतियाकवर बस्तीमा डुबानको सम्भावना

वर्षाले कञ्चनपुरको दोधारा चाँदनीको कुतियाकवर बस्तीमा डुबानको सम्भावना छ । कृषि क्षेत्रमा समेत वर्षाको प्रभाव पर्ने र धानबालीमा क्षति पुग्न सक्ने सम्भावना औँल्याइएको छ ।

वर्षाका कारण महाकाली नदी तथा खोलानाला र छहरेहरूमा पानीको बहाव बढ्न तथा जमिन कटान हुन सक्ने सम्भावना छ ।

नदी किनार तथा होचा स्थानमा रहेका घर तथा गोठमा पनि बाढी र डुबानको जोखिम रहेकाले पशुचौपाया लगायतका धनमाल सुरक्षित स्थानमा सार्न तथा पशुपन्छीको दाना–पानीको व्यवस्थापन गर्न सुझाव दिएको छ ।

त्यस्तै, कृषकलाई धानबाली नकाट्न तथा काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न र निर्माणस्थलमा रहेका उपकरण सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ ।

विद्युत्, सञ्चार, खानेपानी र सिँचाइ सेवा केही समय अवरुद्ध हुन सक्ने तथा दैनिक जनजीवन, बजार सञ्चालन तथा विकास निर्माणका काम प्रभावित हुनसक्ने चेतावनी दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दोधारा चाँदनी नगरपालिकामा मध्यम प्रभावको उच्च सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

भीमदत्त नगरपालिकाको १२ नम्बर वडामा डुबानको जोखिम

प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिनमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि असोज ९ गतेदेखि ११ गते रातिसम्म निरन्तर वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बुलेटिनमा विशेषगरी वडा नम्बर १२ मा पानी जम्ने सम्भावना उच्च रहेको उल्लेख छ । भीमदत्तमा पनि भारी वर्षाले मध्यम प्रभावको उच्च सम्भावना औँल्याइएको छ ।

भारी वर्षाका कारण पशुचौपायामा दाना तथा गोठ व्यवस्थापनमा समस्या हुन सक्ने, दैनिक जनजीवन तथा बजार सञ्चालन प्रभावित हुनसक्ने, इँटा भट्टा तथा विकास निर्माणका काममा समेत अवरोध आउनसक्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, पानीको निकास नहुने ठाउँ तथा होचा भू–भागमा रहेका घरमा पानी जम्न सक्ने र कृषि क्षेत्रमा समेत असर पार्न सक्ने जनाइएको छ ।

विद्युत्, सञ्चार, खानेपानी तथा सिँचाइ सेवा केही समय अवरुद्ध हुन सक्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना नियमित रूपमा प्रवाह गर्न र जोखिमयुक्त बस्ती, नदी तटीय क्षेत्र तथा डुबान सम्भावित स्थानका नागरिकलाई समयमै जानकारी गराउन सुझाव दिएको छ ।

साथै, पशुचौपायालाई सुरक्षित स्थानमा सार्न, दाना–पानीको उचित व्यवस्थापन गर्न तथा कृषकलाई धानबाली नकाट्न, काटिसकेको धान सुरक्षित स्थानमा थन्काउन र निर्माणस्थलमा रहेका उपकरणसमेत सुरक्षित स्थानमा सार्न सुझाव दिइएको छ ।

यस्तो छ बेदकोटको पूर्वानुमान

कञ्चनपुरकै बेदकोट नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले बाढी, डुबान र नदी कटानको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बेदकोट नगरपालिकाका प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै सो जानकारी दिएको हो ।

बुलेटिनअनुसार वेदकोट नगरपालिकामा असोज ९ गतेदेखि ११ गते रातिसम्म निरन्तर वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । धेरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जोखिम तालिकाले वर्षाको सम्भाव्यता र त्यसबाट हुने प्रभावलाई मध्यम प्रभावको उच्च सम्भावनाका रूपमा देखाएको छ ।

पूर्वानुमानअनुसार वेदकोट नगरपालिकाका वडा नम्बर १, ५, ६ र १० तथा लालपुर, सुडा, दैजी लगायतका क्षेत्रमा जोखिम देखाइएको छ । भारी वर्षाका कारण दैजी, लालपुर र सुडाको माथिल्लो क्षेत्रमा डुबान तथा पानीको निकासमा समस्या आउन सक्ने बुलेटिनमा उल्लेख छ ।

वर्षाबाट दैनिक जनजीवन, बजार सञ्चालन तथा विकास निर्माणका कामसमेत केही समय प्रभावित हुन सक्ने सम्भावना छ ।

त्यस्तै, कृषि क्षेत्रमा असर परी धानबालीमा पानी जम्न सक्ने, चौधर नदी तथा अन्य स–साना नदीमा पानीको सतह बढ्न सक्ने र नदी किनार तथा होचा भू–भागका बस्तीमा बाढी, डुबान तथा नदी कटानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ । विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सेवा प्रवाहमा समेत अस्थायी अवरोध आउन सक्ने पूर्वानुमान छ ।

विभागले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना नियमित रूपमा प्रवाह गर्न, जोखिमयुक्त बस्ती, नदी तटीय क्षेत्र तथा डुबान सम्भावित स्थानका नागरिकलाई समयमै जानकारी गराउन सुझाव दिएको छ ।

साथै, पशुचौपायालाई सुरक्षित स्थानमा सार्न, धानबाली नकाट्न तथा काटिसकेको धान सुरक्षित स्थानमा झिकाउन र निर्माणस्थलका उपकरण सुरक्षित ठाउँमा राख्न आग्रह गरिएको छ।

यस अवधिमा स्थानीय नदी तथा खोलाको जलस्तर बढ्न सक्ने भएकाले नदी किनार र होचा भू–भागमा रहेका बासिन्दाले विशेष सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।