काठमाडौँ। सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको हत्याको २२ महिनापछि प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ। मुख्य अभियुक्त पक्राउ परेसँगै लामो समयदेखि न्यायको पर्खाइमा रहेको यादव परिवारमा फेरि आशा जागेको छ।

भारतबाट नेपालतर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा २०८१ मंसिर १६ गते बिहान बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको टोली खटिएको थियो। सई यादवको नेतृत्वमा रहेको टोलीले डीएल ५ सीजे ७१७१ नम्बरको टाटा सफारी रोक्न खोज्दा चालकले यादवलाई ठक्कर दिएर फरार भएको प्रहरीको भनाइ छ। गम्भीर घाइते यादवको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि गाडीमा सवार व्यक्तिहरू फरार भएका थिए।

ADVERTISEMENT

‘टुटिसकेको आशा फेरि जागेको छ’

मुख्य अभियुक्त पक्राउ परेपछि यादवका दाइ पाण्डव यादवले परिवारमा न्यायको आशा फेरि जागेको बताएका छन्।‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो। भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ कि सक्दैन भन्ने लाग्न थालेको थियो,’ उनले भने, ‘तर २२ महिनापछि मुख्य अभियुक्त पक्राउ परेपछि टुटिसकेको आशा फेरि जागेको छ।’ मुख्य अभियुक्त पक्राउ परेको खबरले ठूलो राहत मिलेको भन्दै उनले घटनामा संलग्न अन्य व्यक्तिलाई पनि पक्राउ गरी न्याय दिन माग गरेका छन्।

ADVERTISEMENT

यादवका सालो रञ्जित यादवले पनि मुख्य अभियुक्त पक्राउसँगै परिवारको न्यायप्रतिको आशा बलियो भएको बताए। प्रहरीकै सुरक्षाकर्मीको हत्या हुँदा नागरिक र प्रहरीबीचको विश्वासमा असर पर्न सक्ने भन्दै उनले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन राज्यसँग आग्रह गरे।

२२ महिनापछि मुख्य अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाको २२ महिनापछि भारत बिहारको मधुवनी जिल्ला, ललबनियाँ थाना, घोडमोहना गाउँका ३७ वर्षीय मोहम्मद कुरवान मंसुरी पक्राउ परेका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार कुरवान घटनामा प्रयोग भएको टाटा सफारीका धनी तथा चालक हुन्। उनलाई शुक्रबार बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो।

कुरवानसहित तीन जना सीमा क्षेत्रबाट भाग्न खोजेपछि इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरीका अनुसार त्यस क्रममा प्रहरीलाई लक्षित गरी एक राउन्ड गोली चलाइएको थियो। त्यसपछि प्रहरीले जवाफी कारबाहीमा तीन राउन्ड गोली चलाएको थियो। प्रहरीको गोली लागेर कुरवानको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।

पक्राउ परेका कुरवानलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा ल्याइएको थियो। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

‘फरार व्यक्तिलाई पनि चाँडै पक्राउ गर्छौं’

मुख्य अभियुक्त पक्राउपछि शनिबार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक, सशस्त्र प्रहरीका एसपी सुमनजंग थापालगायत सुरक्षा अधिकारी यादवको घर पुगेका थिए।

परिवारसँगको भेटमा उनीहरूले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए।एसपी पाठकले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको बताए।उनका अनुसार घटनामा संलग्न अर्का एक जना अझै फरार छन्। प्रहरीले उनको खोजी जारी राखेको छ।

‘मुख्य अभियुक्तलाई प्रहरीले २२ महिनापछि पक्राउ गरिसकेको छ। घटनामा संलग्न अर्का एक जना अझै फरार छन्। उनको पनि खोजी भइरहेको छ,’ पाठकले भने, ‘चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याउँछौँ र पीडित परिवारलाई न्याय दिलाउँछौँ।’ मुख्य अभियुक्त पक्राउसँगै प्रहरीले घटनाको अनुसन्धान थप अघि बढाएको जनाएको छ।