काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न साधारणसभाले चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
त्यस्तै, अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित भएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि सर्वसम्मतिले पारित गरेको छ।
साधारणसभाले बाह्य लेखापरीक्षकका रूपमा एन.बि.एस.एम एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।
सभामा शेयरधनीहरूले बैंकको वित्तीय अवस्था तथा आगामी योजनाबारे राखेका जिज्ञासाको जवाफ अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत थकालीले बैंक निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको बताउँदै आगामी दिनमा संस्थालाई थप दिगो र सबल बनाउने प्रतिबद्धता व्यक्त गरे।






