काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १८औँ वार्षिक साधारण सभा शनिबार, २०८३ भदौ २७ गते नयाँ बानेश्वरस्थित थापागाउँको काठमाडौं ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरेको सभापतित्वमा सम्पन्न सभामा वरिष्ठ सिनेमाटोग्राफर तथा संघका सल्लाहकार मञ्जु कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सल्लाहकारद्वय रत्नमान आशु र राजभाई सुवाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष ओमबहादुर पाण्डे, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे तथा पूर्व अध्यक्षहरू बालकृष्ण श्रेष्ठ, मोतीबहादुर बोगटी र डिगम्बर राजवंशीलगायतको उपस्थिति थियो।
त्यस्तै, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीप राज वन्त, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा फोटोवाक नेपालका अध्यक्ष ओमप्रकाश यादव र नेपाल टेलिभिजनका कार्यक्रम निर्माता दीपक समीर अतिथिका रूपमा सहभागी थिए।
सभामा विभिन्न जिल्लाका फोटोग्राफर संघका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, निवर्तमान तथा पूर्व कार्यसमितिका पदाधिकारी, आजीवन सदस्य तथा फोटोग्राफरहरूको उत्साहजनक सहभागिता रहेको संघले जनाएको छ।
साधारण सभामा संघको आगामी कार्यदिशा तथा फोटोग्राफी क्षेत्रको विकास र प्रवर्द्धनका विषयमा छलफल भएको थियो। फोटोग्राफी पेशालाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउँदै व्यवसायी तथा पेशाकर्मीको हितमा आगामी दिनमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको संघले जनाएको छ।






