काठमाडौं । धनुषाबाट अपहरणमा परेका १५ महिने बालकको प्रहरीले ११ दिनपछि सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ १८ गते विदेह नगरपालिका–६ तीनकोरियाका कमलेश महतोका १५ महिने छोरा सिधान्त महतो घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए।
बालक हराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रुपेश खड्काको कमाण्डमा ६० जनाको टोली परिचालन गरी तालिमप्राप्त कुकुरसमेतको सहयोगमा खोजी सुरु गरिएको थियो।
प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोलीले समेत खोजी तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा बालकलाई धनुषाकै कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शंकित महिलाले बालकलाई स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। त्यसपछि जिल्लाका सम्पूर्ण नाकामा २४ घण्टा प्रहरी परिचालन गरी प्राविधिक अनुसन्धानसमेत अघि बढाइएको थियो।
भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे ती महिलाले बालकलाई घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भाग्दै गर्दा प्रहरीले बालकलाई उद्धार गरेको हो। स्वास्थ्य परीक्षणपछि बालकलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बालकलाई छाडेर भारततर्फ भाग्दै गरेकी पासवानलाई विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचविखन र ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।






