काठमाडौं । प्रेस काउन्सिल नेपालले रसुवाको बाढीपछि उद्धार गरिएका व्यक्तिहरूसँग अस्पतालको आईसीयूमै अन्तर्वार्ता लिएर प्रसारण गरिएको सामग्रीप्रति ध्यानाकर्षण जनाएको छ ।
काउन्सिलले आज विज्ञप्ति जारी गर्दै माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट बाढी आएको १० दिनपछि उद्धार गरिएका र अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर ‘इन्साइड द बङ्कर’ नामक युट्युब च्यानलबाट प्रसारण गरिएको सामग्रीबारे ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तै, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शकको अस्पतालको आईसीयूमा उपचार भइरहेको अवस्थामा अन्तर्वार्ता लिएर बीबीसी नेपाली ले प्रसारण गरेको भिडिओ सामग्रीबारे समेत जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले दुवै सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ । यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचारसमेत गरिएको काउन्सिलको भनाइ छ ।





