काठमाडौं । अभिनेत्री दीपाश्री निरौला फिल्मको काममा फर्किएकी छन्। ब्रेन ट्युमरको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेकी उनी करिब दुई महिनापछि फिल्म ‘पाँच पाण्डव’को डबिङमार्फत फिल्म कर्ममा फर्किएकी हुन्।

शुक्रबार तिलगंगास्थित म्युजिक नेपाल अडियो भिजुअल स्टुडियो पुगेर दीपाश्रीले फिल्मका लागि आफ्नो भागको डबिङ गरेकी हुन्। लामो समयपछि डबिङ स्टुडियो पुगेकी उनी काममा फर्किएको उत्साहमा देखिएकी थिइन्।

ADVERTISEMENT

स्टुडियो पुगेपछि उनले फिल्मका निर्देशक बसन्त निरौला, रेकर्डिस्ट, टेक्निसियन तथा कर्मचारीसँग भेटघाट गर्दै अभिवादन गरेकी थिइन्। डबिङ सुरु गर्नुअघि उनले स्टुडियोको मुख्य ढोकासमेत ढोगेकी थिइन्।

ADVERTISEMENT

स्वास्थ्यमा समस्या आएपछि केही समय कलाकारिता र फिल्म क्षेत्रका नियमित गतिविधिबाट टाढा रहेकी दीपाश्री अब नियमित काममा फर्किने तयारीमा छिन्।

तिहारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘पाँच पाण्डव’ को अहिले डबिङ भइरहेको छ। फिल्ममा दीपाश्रीसँगै हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, सरिता गिरी र बिनोद न्यौपानेलगायत कलाकारको अभिनय छ।

ADVERTISEMENT