काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात पुनः सञ्चालनमा आएको छ।
भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भएपछि उक्त खण्डमा यातायात अवरुद्ध भएको थियो। सडकमा थुप्रिएको माटो तथा अन्य अवरोध हटाएपछि सोमबार साँझदेखि सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
लामो समयको अवरोधपछि सडक सञ्चालनमा आएसँगै धादिङ हुँदै राजधानी तथा अन्य जिल्लातर्फ आवतजावत गर्ने यात्रु र स्थानीयवासीलाई सहज भएको छ।
बाढीका कारण क्षतिग्रस्त सडक तथा पूर्वाधार पुनः सञ्चालनमा ल्याउने काम तीव्र पारिएको प्रहरीले जनाएको छ।





