काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्णले २५–२३, २८–२६ र २५–२३ को सेटमा जित निकालेको हो।
दुई खेल खेलेको अन्नपूर्णको यो पहिलो जित हो। पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको थियो। यता, काठमाडौं रेड्सको भने दुई खेलमा पहिलो हार हो। उसले पहिलो खेलमा मधेश वारियर्सलाई ३–२ ले हराएको थियो।
अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन्। टोलीहरूले सिंगल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानका टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्, जुन नेपाली पुरुष भलिबलमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि हो। आजको दोस्रो खेलमा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे प्रतिस्पर्धा हुनेछ।







