काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सर्वसाधारण सिलिन्डर लिन घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। सिफललगायत उपत्यकाका विभिन्न स्थानमा रहेका ग्यास वितरण केन्द्रमा उपभोक्ताको लामो लाइन देखिएको छ। ग्यासको आपूर्ति नियमित नहुँदा विद्यार्थी, श्रमिक तथा डेरामा बस्नेहरू बढी प्रभावित भएका छन्।

सिराहा घर भई काठमाडौंमा स्नातक तह अध्ययन गरिरहेका एक विद्यार्थीले आफू दुई–तीन दिनदेखि ग्यासको लाइनमा बसिरहेको बताए। उनका अनुसार एक जनालाई एउटा मात्र सिलिन्डर दिने गरिएको छ।

ADVERTISEMENT

“२–३ दिनदेखि लाइनमा बसेको छु। एक जनालाई एउटा मात्र दिन्छ। ग्यास नपाए होटलमै खानुपर्ने अवस्था आउँछ,” उनले भने।

ADVERTISEMENT

यस्तै, गौशाला–तिलगंगा क्षेत्रमा बस्ने अस्गर अली पनि तीन दिनदेखि ग्यासको प्रतीक्षामा छन्। बिहानैदेखि लाइनमा बसे पनि आफ्नो पालो अझै नआएको उनले बताए। उनका अनुसार सुगम र एभरेस्ट ग्यास केही दिनपछि आउने जानकारी दिइएको छ।

डिलरले नियमित ग्राहकलाई प्राथमिकता दिने गरेको भन्दै कतिपय उपभोक्ताले ग्यास पाउन थप समस्या भइरहेको गुनासो गरेका छन्।

ADVERTISEMENT

आपूर्ति अनियमित हुँदा उपभोक्ताले पटक–पटक डिलर धाउनुपर्ने, लामो समय लाइनमा बस्नुपर्ने र ग्यास नपाए महँगोमा होटलको खाना खानुपर्ने अवस्था आएको बताएका छन्।

उपभोक्ताले ग्यासको आपूर्ति तत्काल सहज बनाउन, वितरण प्रणाली व्यवस्थित गर्न तथा सबै उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।