काठमाडौँ । अमेरिकाले आइतबार इरानका तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण गरेपछि त्यहाँ सरकार परिवर्तनको सम्भावना बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमा शासन परिवर्तनको बारेमा टिप्पणी गरेका छन्।

ट्रम्पले आफ्नो ट्रुथ सोसियलमा लेखेका छन्, ‘शासन परिवर्तन भन्नु राजनीतिक रूपमा सही मानिँदैन, तर यदि वर्तमान इरानी सरकारले इरानलाई फेरि महान बनाउन सकेको छैन भने, किन शासन परिवर्तन हुनु हुँदैन ? इरानलाई फेरि महान बनाउनुहोस्।’ इरानका सर्वोच्च नेता आयोतोल्लाह अल खामेनीले ट्रम्पको टिप्पणीबारे केही बोलेका छैनन् ।

ADVERTISEMENT

आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानको आणविक स्थलहरूमा गरिएको आक्रमण शासन परिवर्तनका लागि नभएको बताएका थिए। ‘यो उद्देश्य शक्ति परिवर्तन गर्नु थिएन र अहिले त्यस्तो कुनै उद्देश्य छैन,’ उनले भनेका थिए ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि आइतबार एबीसी न्यूजलाई भने, ‘सबैभन्दा पहिले, हामी शासन परिवर्तन चाहँदैनौं। हामी इरानको आणविक कार्यक्रम अन्त्य गर्न चाहन्छौं।’

ADVERTISEMENT

सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति हुनुअघि अमेरिकाको सहयोगी थियो इरान। तर उक्त क्रान्तिपछि इरानमा राजशाही अन्त्य भएर इस्लामिक कट्टरपन्थी शासन लागू भएसँगै दुई देशबीचको सम्बन्ध चिसिएको मात्रै छैन, कट्टर दुश्मन नै बनेका छन्। आफ्ना तीन महत्वपूर्ण आणविक केन्द्रमा भएको आक्रमणको जवाफ अमेरिकालाई दिने इरानले चेतावनी दिइसकेको छ ।