काठमाडौं । रसुवामा आएको बाढीले सडक कटान गरेपछि धादिङको कृष्णभीरमा गएको पहिरोले काठमाडौं उपत्यकाको अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन थालेको छ । विशेषगरी खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि उपभोक्ता घण्टौँ लाइन बस्न बाध्य भएका छन् ।
संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आइतबार पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । राजमार्ग बन्द हुँदा ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् । त्यसको प्रत्यक्ष असर उपत्यकामा ग्यास आपूर्तिमा परेको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौंका विभिन्न स्थानमा रहेका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढेको छ । अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा पाँच दिनदेखि ग्यास लिन सर्वसाधारणको लामो लाइन लागेको छ ।
उपभोक्ताहरूले घण्टौँ लाइनमा बसेर पनि ग्यास नपाउने अवस्था आएको गुनासो गरेका छन् । कतिपय उपभोक्ता खाली सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था रहेको बताउँछन् ।
रसुवा बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान, पहिरो र लेदो थुप्रिँदा आवागमन पटक–पटक प्रभावित हुँदै आएको छ । कृष्णभीरमा गएको पहिरोले राजमार्ग नै पूर्ण रूपमा बन्द भएपछि काठमाडौंको आपूर्ति प्रणालीमा त्यसको प्रत्यक्ष असर परेको हो ।
विशेषगरी ग्यास, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन उपत्यका प्रवेश गर्न नसक्दा आगामी दिनमा अभाव थप बढ्न सक्ने देखिएको छ ।
सडक खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, सडक तत्काल सञ्चालनमा नआए काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको आपूर्ति थप प्रभावित हुने जोखिम देखिएको छ ।







