काठमाडौं । काठमाडौंमा जारी १८औँ नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंकहरूले सवारी कर्जामा आकर्षक योजना सार्वजनिक गरेका छन्। विभिन्न बैंकले ब्याजदर घटाउनुका साथै कर्जाको अवधि, सेवा शुल्क, डाउन पेमेन्ट र विद्युतीय सवारी (ईभी) खरिदमा समेत छुट तथा सहुलियतका योजना ल्याएका हुन्।
अटो शोमा सरकारी तथा निजी क्षेत्रका १३ वटा वाणिज्य बैंक सहभागी छन्। उपलब्ध योजनाअनुसार बैंकहरूको अटो लोन ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ।
अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ। बैंकले अधिकतम ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने तथा सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने जनाएको छ। ईभी खरिदमा सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने योजना पनि बैंकले ल्याएको छ।
नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि अधिकतम १ करोड रुपैयाँसम्म कर्जा दिने जनाएको छ। अटो शो अवधिमा सेवा शुल्कसमेत घटाएर ०.५० प्रतिशत कायम गरिएको छ।
नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गर्ने, थप २० प्रतिशत रकम क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने र बाँकी ६० प्रतिशत बैंकबाट कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।
एनआईसी एशिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि अटो लोन उपलब्ध गराउने जनाएको छ। बैंकले ईभी खरिदका लागि सवारी मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन सकिने जनाएको छ।
त्यस्तै, ग्लोबल आईएमई बैंकले ईभीका लागि ५.१७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। ७ वर्षे कर्जामा पहिलो ३ वर्ष ५.१७ प्रतिशत ब्याजदर रहने र त्यसपछि बेस रेटमा २ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा १० वर्षसम्मको अटो लोन योजना ल्याएको छ। अटो शो अवधिमा सेवा शुल्कमा समेत छुट दिँदै ०.२५ प्रतिशत कायम गरिएको छ।
प्रभु बैंकले ५.४४ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएका छन्। दुवै बैंकले ७ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउने जनाएका छन्।
यसैगरी कुमारी बैंकले ५.२१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.१३ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५४ प्रतिशत र सिद्धार्थ बैंकले ५.९६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएका छन्।
नाडा अटो शोमा बैंकहरूले ब्याजदरमा मात्रै प्रतिस्पर्धा गरेका छैनन्। कर्जा अवधि, सेवा शुल्क, डाउन पेमेन्ट तथा ईभीमा उपलब्ध कर्जा सीमालाई समेत प्राथमिकतामा राखेर ग्राहक आकर्षित गर्ने योजना अघि सारेका छन्।






