काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग दुई उपप्रधानमन्त्रीसहित सबै मन्त्रीले कार्यसम्पादन सम्झौता गरेका छन् ।

ADVERTISEMENT

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा एक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको हो ।

मन्त्रीहरूले अबको एक वर्षमा आफूलाई प्रधानमन्त्री कार्यालयले दिएको कामको रिपोर्ट कार्ड पेस गर्नुपर्ने छ । कार्यसम्पादन सम्झौता गर्नेमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल पनि छन् ।

ADVERTISEMENT

यस्तै, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, शिक्षामन्त्री रघुजी पन्त, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, पर्यटनमन्त्री बद्री पाण्डे, रक्षामन्त्री मानवीर राई, खानेपानीमन्त्री प्रदीप यादव, सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलगायत छन् ।

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता भएपछि अब मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना सकिएको छ । केही समयदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरू हेरफेर गर्ने चर्चा थियो ।

अघिल्लो वर्ष भदौमा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता भएको थियो । अब आउने असारमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई सकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।