काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि दुई नदीको संगमस्थलमा ठूलो प्राकृतिक बाँधसहितको ताल बनेको भन्दै चीनले आगामी तीन दिनमा त्यसबाट थप बाढीको जोखिम रहेको चेतावनी दिएको छ।

चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठूलो ‘ब्यारियर लेक’ बनेको छ। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिरिनसमेत थालेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

मन्त्रालयका अनुसार आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान छ। पानीको मात्रा निरन्तर बढ्दै गएमा प्राकृतिक बाँध भत्किएर अचानक ठूलो बाढी आउन सक्ने भएकाले जोखिम उच्च रहेको जनाइएको छ।

ADVERTISEMENT

चीनले थाल्यो निरन्तर निगरानी

चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। सम्भावित रूपमा प्राकृतिक बाँध फुटेमा बाढीको पानी कुन दिशामा र कति तीव्र गतिमा पुग्न सक्छ भन्ने आकलन गर्न बाढीसम्बन्धी सिमुलेसन तथा विश्लेषण भइरहेको छ।

ADVERTISEMENT

सम्भावित जोखिमलाई ध्यानमा राख्दै आकस्मिक उद्धार तथा राहत कार्यका लागि आवश्यक तयारीसमेत भइरहेको चिनियाँ पक्षले जनाएको छ।

ADVERTISEMENT

यसअघि नेपालतर्फको सीमाक्षेत्रमा हिमपहिरो तथा पहिरोका कारण नदीमा अस्थायी अवरोध बनेर पानी जम्मा भएको र त्यसपछि अचानक बाढी आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको थियो।

चीनतर्फ पनि उद्धार तथा राहत तीव्र

नेपाल–चीन सीमा क्षेत्रमा नेपालको भूभागबाट सुरु भएको विनाशकारी पहिरोले चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको क्यिरोङ बन्दरगाह आसपासमा समेत ठूलो क्षति पुर्‍याएपछि चिनियाँ अधिकारीहरूले उद्धार तथा राहत कार्य तीव्र बनाएका छन्।

चिनियाँ जनमुक्ति सेना, आपत्कालीन उद्धारकर्मी, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरू घटनास्थलमा परिचालित छन्। उद्धारका लागि जनशक्ति, हेलिकोप्टर, उपकरण तथा आवश्यक सामग्री पठाइएको चिनियाँ पक्षले जनाएको छ।

दुर्गम भौगोलिक अवस्था, लगातार भइरहेको वर्षा तथा थप प्राकृतिक विपद्को जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। चीनले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहत संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ।